फ्यानहरूका नाममा भाल्भर्डेले लेखे यस्तो बिदाइ पत्र

एजेन्सी, पुस २९
गत राति स्पेनिस बार्सिलोनाको प्रमुख प्रशिक्षकबाट बर्खास्त भएका अर्नेस्टो भाल्भर्डेले फ्यानहरूका नाममा बिदाइ पत्र लेखेका छन् । क्लबबाट औपचारिक रूपमा बिदाइ भएर जानुअघि उनले एक लामो सन्देश क्लबलाई दिएका छन् । र, सो पत्र बार्सिलोनाले अफिसियल वेबसाइटमार्फत् सार्वजनिक गरेको छ ।

गत राति भाल्भर्डेलाई बर्खास्त गर्दै बार्सिलोनाले क्विके सेनिटलाई नयाँ प्रशिक्षकमा नियुक्त पनि गरेको छ । मंगलबार साँझ बार्सिलोनाले सेनिटलाई क्याम्प नोउमा सार्वजनिक समेत गरिसकेको छ ।

अढाई वर्ष बार्सिलेनामा बिताएका स्पेनिस प्रशिक्षक भाल्भर्डेले आफ्ना समर्थक, खेलाडी, अफिसियल स्टाफ र क्लबको बोर्डप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् । सन्देशको सुरुआतमा भाल्भर्डेले लेखेका छन्–

‘प्रिय समर्थकहरू ! बार्सिलोनामा प्रशिक्षकका हैसियतमा मेरो समय सकिएको छ । सुरुआतदेखि यहाँसम्म आइपुग्दा अढाई वर्ष बित्यो । यस समयमा मैले जित र उपाधिका साथ केही आनन्दायी क्षणहरू बिताएँ ।’

भाल्भर्डेले सन्देशमा बार्सिलोनामा आफ्ना लागि केही कठिन समय पनि आएको उल्लेख गरेका छन् । ‘सँगै केही कठिनाइ पनि आए, जुन निकै गाह्रा थिए । यद्यपि, यी सबै कुराभन्दा माथि म मेरा फ्यानहरूलाई प्रेमपूर्वक सम्झिन र कोचका रूपमा यहाँ बिताएको समय बाँड्न चाहन्छु ।’

भाल्भर्डेले क्लबका अध्यक्ष र बोर्डलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । ‘म क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र अन्य अधिकारीलाई धन्यवाद दिन चाहन्छु । किनभने, उहाँहरूले मलाई पहिलो टिमको प्रशिक्षक बन्न विश्वास गर्नुभयो र समय दिनुभयो । यहाँ रहँदा मलाई सहयोग गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु । अढाई वर्ष यहाँ रहँदा म र टिमसँग जोडिएर काम गर्ने तथा असल व्यवहार देखाउने सबैप्रति कृतज्ञ छु, जोसँग मैले थुप्रै क्षणहरू साटेको छु ।’

भाल्भर्डेले आफ्नो कार्यकालमा टिमका लागि खेल्ने, सधैं जित्न प्रयास गर्ने खेलाडीलाई पनि धन्यवाद दिएका छन् । ‘म सबै खेलाडीहरूलाई उनीहरूको मेहनतको सम्मान गर्दै सबैखाले प्रयासका लागि धन्यवाद दिन चाहन्छु, जहाँ हामीले चार उपाधिमा अधिकार पायौं ।’

भाल्भर्डेेले सन्देशको अन्त्यमा नयाँ प्रशिक्षक क्किवे सेटिनलाई सफल कार्यकालका लागि शुभकामनासमेत दिएका छन् । उनले लेखेका छन्, ‘आजका दिनदेखि विश्वलाई गुड लक भन्न चाहन्छु । र, नयाँ प्रशिक्षक क्विके सेटिनको सफल कार्यकालको कामना गर्दछु ।’

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार २०:५७
Loading...