सुपर कप जितेपछि जिदानको ‘झन् कडा’ डाइलग !

एजेन्सी, पुस २९
जारी सिजनको पहिलो उपाधिका रूपमा सुपर कप जितेपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफूहरू सिजनको पहिलो उपाधिबाट ज्यादै खुसी रहेको र उत्साहित भएको बताएका छन् । साउदी अरेबियामा रियलले एथ्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराएर उपाधि जितेको थियो ।

स्पेन फर्किएपछि जिदानले मिडियासँग कुरा गर्दै रियल जित र उपाधिको बाटोमा फर्किएको बताउँदै आफूहरू अब नयाँ उत्साहसाथ अघि बढ्ने बताए । ‘हामी यो उपाधि जित्न चाहन्थ्यौं । र, जित्यौं पनि । अवश्य पनि, सिजनको पहिलो फाइनलबाट उपाधि जित्नु निकै राम्रो कुरा हो,’ जिदानले भने ।

जिदानले सुपर कप जितेपछि आफ्ना खेलाडीमा आत्मबल बढेको पनि बताए । ‘कप जितेपछि मेरा खेलाडी खुसी छन् । र, उनीहरूमा आत्मविश्वास निकै बढेको छ, जुन टिमका लागि ठूलो शक्ति हो,’ जिदानले भने, ‘टिम सिनजका बाँकी उपाधि जित्न तयार छ ।’

जिदानले रियलको अबको ध्यान सिजनका बाँकी तीनवटै प्रतियोगिता जित्नु रहेको बताए । उनले ला लिगा हारहालतमा जितेरै छाड्ने मात्रै बताएनन्, च्याम्पियन्स लिग प्रमुख लक्ष्य हुने पनि बताए । ‘हामी सबै उपाधि जित्न चाहन्छौं । यदि त्यहाँ अरू सात प्रतियोगिता छन् भने ती सबै,’ जिदानले हाँस्दै भने, ‘ला लिगा हामी जित्छौं, च्याम्पियन्स लिग हाम्रो प्रमुख लक्ष्य हो । कोपा कप पनि हामी छाड्दैनौं ।’

जिदानले आफ्ना घाइते खेलाडीबारे पनि धारणा राखे । ‘यो कुरा मेरो हातमा छैन । चोट बोकेका खेलाडी फिट हुनुपर्छ, म कसैमाथि पनि जोखिम मोल्न चाहन्नँ,’ जिदानले भने, ‘इडेन चाँडै आउनेछन्, अरू बिस्तारै आउँछन् ।’

जिदानलाई लिगमा बार्सिलोनाको चुनौतीबारे पनि सोधियो । बार्सिलोना अहिले लिग लिडर भए पनि आफूहरूले अन्तिम चरणमा पुग्दा लिग जित्ने दाबी उनले गरे । ‘बार्सिलोनामा अहिले केही ठीकठाक नभएको सुनेको छु, धेरै कुरा मलाई थाहा छैन । त्यो मेरो विषय पनि होइन । आशा छ, उनीहरू ठीकठाक हुनेछन्,’ जिदानले भने, ‘उनीहरू अहिले लिग लिडर हुन् । तर, हामी बराबरीमै छौं । लिगमा अझैं थुप्रै अंकका खेल बाँकी छन् । आगामी दिनमा जे पनि हुन सक्छ । हामी हार्न सक्छौं, उनीहरू पनि हार्न सक्छन् । तर, ३८औं खेल सकिँदा हामी च्याम्पियन बन्नेछौं । हामीलाई यसपालि ला लिगा हार्न छुट छैन ।’

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १३:०२
Loading...