‘थकित’ मेस्सीका बार्सिलोनासँग आठ सर्त : सर्त पूरा नभए …….

एजेन्सी, पुस २८
स्पेनिस बार्सिलोना जारी सिजनको सुपर कपबाट आउट भएपछि क्लबमा ठूलो हलचल पैदा भएको छ । बार्सिलोना एथ्लेटिको मड्रिडसँग सेमिफाइनलमा ३–२ ले हारेको थियो । बार्सिलोनालाई हराएर फाइनल पुगेको एथ्लेटिको फाइनलमा रियल मड्रिडसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा उपाधि बार्सिलोनाको कट्टर प्रतिस्पर्धी टिमले उचाल्यो ।

सुपर कपबाट आउट भएपछि कप्तान मेस्सीले त्यत्तिबेलै मिडियासँग प्रतिक्रिया दिँदै ‘आफूले निकै थकित महसुस गरिरहेको’ भन्दै ‘केही समय आराम गर्न मन रहेको’ बताएका थिए । त्यसपछि बार्सिलोनामा लगातार प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको विकल्प खोजीबारे चर्चा जारी छ ।

यसैबीच, बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले मेस्सीले सुपर कप हारेपछि केही खास सर्त क्लबको बोर्डसँग राखेका विशेष रिपोर्ट छापेको छ । मेस्सीले क्लबका अध्यक्षसँग एकल भेट गरेरै आफू निकै थकित अवस्थामा पुगेको र क्लबको खस्किँदो अवस्थाबाट निकै चिन्तित रहेको बताएको स्रोतलाई उद्धृत गर्दै सो पत्रिकाले खबर छापेको छ ।

खबरअुसार हालको अवस्थामा टोली र खेलाडी सम्हाल्न क्लबले तत्कालै केही ठोस काम गर्नुपर्ने भन्दै मेस्सीले विभिन्न सुझाव बोर्डलाई दिएका छन् । स्पेनका मिडियाले मेस्सीका सुझावलाई भने ‘सर्त’का रूपमा व्याख्या गरेर खबर छापेका छन् ।

रिपोर्टअनुसार मेस्सीले बोर्डसँगै आठ सर्त राखेका छन् । यदि ती पूरा नभए यो सिजनको अन्त्यसँगै आफूले क्लब छाड्ने जनाउ मेस्सीले स्पष्ट रूपमा बोर्डलाई दिएको रिपोर्टमा उल्लेख छ ।

बोर्डसँग मेस्सीले ‘आफू र लुइस स्वारेजको आडमा रहेर प्रशिक्षक भाल्भर्डेले टोलीमाथि हक जमाउँदै आएको तर अब अवस्था हातबाट बाहिर जान लागेको’ भन्दै बोर्डसँग असन्तुष्टि पोखेको बताइएको छ । मेस्सीले बार्सिलोना पछिल्ला १० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा आइपुगेको भन्दै तत्कालै ठोस कार्य गर्न पनि बोर्डसँग माग गरेका छन् । ‘मुन्डो डेपोर्टिभो’ का अनुसार मेस्सीले क्लबको बोर्डसँग राखेका केही प्रमुख सर्त यस्ता छन्–

– सबैभन्दा प्रशिक्षक भाल्भर्डेलाई बर्खास्त गर्नुपर्ने ।

– बार्सिलोनाको नयाँ प्रशिक्षकका लागि पहिलो रोजाइमा अनुभव नभएका जाभी नभएर हाल नेदरल्यान्ड्सको प्रशिक्षक रहेका रोनाल्डा कोएमानलाई राख्नुपर्ने ।

– टिमको आक्रमणपंक्तिाई प्रभावकारी बनाउन पूर्वखेलाडी नेइमार र अर्जेन्टिनाका लौटारो मार्टिनेज भित्र्याउनुपर्ने । यी दुवै खेलाडीलाई अहिले मेस्सीले अत्यधिक चाहेका छन् ।

– डिफेन्स लाइनमा तत्काल व्यापक सुधार गर्नुपर्ने । आवश्यक परे नयाँ खेलाडी भित्र्याउनुपर्ने ।

– बार्सिलोनामा उसामान डेम्बेलेको भविष्य नरहेको । र, बार्सिलोनाको खेल शैली र गुणलाई मोड्ने शैलीका खेलाडी बेच्नुपर्ने । सँगै कार्लेस पेरेजलाई लोनमा भए पनि बाहिर पठाउनुपर्ने ।

– एन्टोनी ग्रीजम्यानले आफ्नो स्तर सुधार्दै लगेकाले उनलाई कम्तीमा आगामी सिजनसम्म राख्नुपर्ने ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार २१:३२
Loading...