मेस्सी र अगुएरोबारे ग्वार्डिओलाको यस्तो टिप्पणी

एजेन्सी, पुस २८
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले गत राति एकै खेलबाट दुई रेकर्ड बनाए । एस्टोन भिल्लाविरुद्ध सिटीले १–६ को जित निकाल्दा अगुएरोले ह्याट्रिक गरेका थिए । सो ह्याट्रिकसँगै अगुएरोले प्रिमियर लिगमा इंग्ल्यान्डभन्दा बाहिरबाट खेल्ने खेलाडीमध्येबाट सर्वाधिक गोलकर्ताको रेकर्ड बनाए । त्यस्तै, उनले सर्वाधिक ह्याट्रिकको रेकर्डसमे तभंग गर्दै आफ्नो नाममा लेखाए ।

सन् २०११ देखि सिटीको जर्सीमा खेलिरहेका अगुएरो अब १७७ गोलसहित प्रिमियर लिगमा नन–इंग्ल्यान्ड सर्वाधिक गोलकर्ता बनेका छन् । उनको ह्याट्रिक संख्या १२ पुगेको छ । सो खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना पूर्वखेलाडी बार्सिलोनाका लिओनल मेस्सी र अगुएरोको तुलना गरे । मेस्सी र अगुएरो अर्जेन्टिनाबाट सँगै खेल्छन् ।

खेलपछि मिडियासँग कुरा गर्दै उनले अगुएरो विश्वका उत्कृष्टमध्येका एक खेलाडी भए पनि आफ्ना लागि मेस्सी सधैंका लागि सबैभन्दा माथि हुने बताए । ‘सर्जियो एक उत्कृष्ट खेलाडी हुन्, यसमा शंका नै छैन,’ ग्वार्डिओलाले भने, ‘तर, मेरा लागि मेस्सी सधैंका सर्वोत्कृष्ट छन्, सबैभन्दामाथि । त्यहाँ थुप्रै उत्कृष्ट खेलाडी छन्, सर्जियो तीमध्येका एक हुन् ।’

ग्वार्डिओलाले अगुएरोले लिगमा एकैपटक दुई रेकर्ड भंग गर्दा आफूलाई निकै खुसी लागेको बताए । ‘यस्ता रेकर्ड भंग गर्नु एक लिजेन्ड खेलाडीको तहबाट मात्रै हुन्छ । सर्जियोलाई म बधाई दिन चाहन्छु,’ ग्वार्डिओलाले थपे ।

ग्वार्डिओलाले आफूहरू यो सिजन घरेलु लिगमा उपाधि होडमा नरहेको पनि बताए । ‘मैले यसअघि पनि भनें, हामी अब उपाधि होडमा छैनौं । बाँकी सिजन हाम्रा लागि अर्को सिजन च्याम्पियन्स लिग सुरक्षित गर्नका लागि मात्रै हो,’ ग्वार्डिओलाले भने

गत रातिको जितपछि सिटी प्रिमियर लिगको दोस्रो स्थानमा चढेको छ । तर, सिटी अझै एक खेल कम खेलेको लिभरपुलभन्दा १४ अंकले पछि छ ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार १९:२८
Loading...