युभेन्टसका डिफेन्डरलाई गम्भीर चोट : ६ महिना मैदानबाहिर

एजेन्सी, पुस २८
इटालियन युभेन्टसका सेन्टर डिफेन्डर मेरिह डेमिराल गम्भीर घाइते भएका छन् । गत राति सिरी ए मा रोमाविरुद्ध अवे मैदानमा खेल्नेक्रममा उनी घाइते भएका हुन् । खेलको १९औं मिनेटमा डेमिरालले चोट बोक्दै मैदान छाडेका थिए ।

त्यसअघि खेलको तेस्रो मिनेटमै डेमिरालले भ्रमणकारी टोली युभेन्टसका लागि सुरुआती गोल गरेका थिए । पाउलो डिबालाको फ्रि किकमा सुन्दर टचमा गोल गर्दै उनले यो सिजनको पहिलो गोल गरेका थिए ।

आज सोमबार युभेन्टसले अफिसियल विज्ञप्ति जारी गर्दै टर्किस डिफेन्डरको बायाँ घुँडामा चोट परेको पुष्टि गरेको छ । क्लबले डेमिरालको अप्रेसन गर्नुपर्ने हुँदा उनी ६ महिनासम्म मैदानबाहिर रहने बताएको छ । डेमिराल हेडिङ गर्नेक्रममा भुइँमा बजारिएका थिए ।

यो चोटसँगै डेमिरालले यो सिजनका सबै खेल गुमाउने पक्का भएको छ । यता, उनले टर्कीको राष्ट्रिय टिमबाट यसै वर्ष हुने युरो कपसमेत गुमाउने भएका छन् ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार १८:५७
Loading...