लिजेन्ड अगुएरो : प्रिमियर लिगमा एकैपटक दुई ऐतिहासिक रेकर्ड

काठमाडौं, पुस २८
इंग्लिस प्रिमियर लिग फुटबलमा गत राति म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई उसकै घरमा १–६ ले हरायो । सिटीको फराकिलो जितमा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले ह्याट्रिक गोल हाने ।

सो ह्याट्रिकसँगै उनले प्रिमियर लिगको इतिहासमै एकैपटक दुई शानदार रेकर्ड बनाएका छन् । अगुएरोले खेलको २८औं मिनेटमा पहिलो गोल गरेर ५७औं मिनेटमा दोस्रो गोल गर्दा ८१औं मिनेटा ह्याट्रिक पूरा गरेका थिए ।

प्रिमियर लिगको इतिहासकै सर्वाधिक गोलकर्ता

अर्जेन्टिनाका फरवार्ड अगुएरो अब प्रिमियर लिगको इतिहासमै इंग्ल्यान्डभन्दा बाहिरका  खेलाडीमध्ये सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । गत रातिको ३ गोल सँगै अगुएरोका नाममा कूल १७७ गोल पुगेको छ, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । उनले थिएरी हेनरीको नाममा रहेको १७५ गोलको सर्वाधिक गोलको रेकर्ड भंग गरेका हुन् ।

अगुरोले सो रेकर्ड भंग गर्नेक्रममा कूल २५५ खेलबाट १७७ गोल गरेका हन् । यता, हेनरीले २५८ गोलबाट १७५ गोल गरेर रेकर्ड बनाएका थिए । अगुएरो सन् २०११ बाट लगातार सिटीमा छन् ।

प्रिमियर लिगको इतिहासमै सर्वाधिक ह्याट्रिककर्ता

गत रातिको ह्याट्रिकसँग अगुएरो अब प्रिमियर लिगको इतिहासमै सर्वाधिक ह्याट्रिककर्ता खेलाडी पनि बनेका छन् । उनको कूल ह्याट्रिक संख्या १२ पुगेको छ । उनले अलान सेरियरको ११ ह्याट्रिकलाई पछि पारेका हुन् ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार ११:३९
Loading...