नेइमारको २ गोलले पुगेन जित्न : पिएसजीलाई रोक्यो मोनाकोले

काठमाडौं, पुस २८
स्टार खेलाडी नेइमारले २ गोल गरे पनि फ्रेन्च क्लब पिएसजी लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । गत राति भएको खेलमा पिएसजी पाहुना टोली मोनाकोसँग ३–३ को बराबरीमा रोकिन बाध्य भयो ।

पिएसजीका लागि खेलको तेस्रो मिनेटमै नेइमारले गोल गरेका थिए । तर, त्यसको ४ मिनेटपछि नै मोनाकोका लागि ग्लिसन मार्टिनले गोल गरेर खेल १–१ बनाए । त्यसपछि खेलको १३औं मिनेटमा मोनाकोका लागि विसम बेनले गोल गर्दै पिएसजीविरुद्ध १–२ को अग्रता दिलाए ।

तर, खेलको २४औं मिनेटमा मोनाकोका खेलाडी फोडे टुरेले आत्मघाती गोल गरेपछि खेल २–२ मा आयो ।

त्यसपछि खेलको ४२औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत् दोस्रो गोल गरेर पिएसजीलाई ३–२ को अग्रता दिलाए । सोही अग्रता लिएर जिततर्फ अघि बढेको पिएसजीले खेलको ७०औं मिनेटमा गोल खायो । मोनाकोका लागि इस्लाम स्लिमानीले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो ।

अब यो बराबरीसँगै पिएसजीले १९ खेलबाट ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । मोनाको २९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार १०:५१
Loading...