एस्टोन भिल्लाको पोस्टमा सिटीको आधा दर्जन गोल : अगुएरोले हाने ह्याट्रिक

काठमाडौं, चैत २८
हालै चोटमुक्त हुँदै टोलीमा फर्किएका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले ह्याट्रिक हानेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको लिगको २२औं खेलमा सिटीले एस्टोन भिल्लालाई उसकै घरेलु मैदानमा १–६ ले स्तब्ध बनायो ।

सिटीलाई अवे मैदानमा जिताउन अगुएरोले ह्याट्रिक गर्दा रियाद महारेजले २ गोल गरे । सिटीले एक पक्षीय बनाएको खेलमा १८औं मिनेटमा महारेजले पहिलो गोल गर्दा २४औं मिनेटमा उनैले दोस्रो गोल गरे । त्यसपछि २८औं मिनेटमा अगुएरोले गोल गर्दा इन्जुरी समयमा ग्याब्रिएल जेससले गोल गरेपछि पहिलो हाफमा सिटीले ०–४ को सहज अग्रता बनायो ।

दोस्रो हाफमा सिटीले २ गोल थप्यो । जहाँ अगुएरोले ह्याट्रिक पूरा गरे भने भिल्लाले पेनाल्टीमार्फत् १ गोल फर्कायो । ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अगुएरोले ८१औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको इन्जुरी समयमा भिल्लाका लागि अनवार घाजीले पेनाल्टीमार्फत् १ गोल गरेपछि खेल सिटीले १–६ ले जित्यो ।

अब यो जितसँगै सिटी २२ खेलबाट ४७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा पनि चढेको छ । उसले लेस्टर सिटीलाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा चढेको हो । पराजित भिल्ला २१ अंकसहित १८औं स्थानमा छ । सिटी अझै एक खेल कम खेलेको लिग लिडर लिभरपुलभन्दा १४ अंकले पछि छ ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार ००:०६
Loading...