तथ्यांक भन्छ– ‘नकआउट’मा बार्सिलोनालाई एथ्लेटिको मड्रिडको हातबाट बच्नै मुस्किल !

काठमाडौं, पुस २७
लिओनल मेस्सीको टिम बार्सिलोना जारी सिजनको स्पेनिस सुपर कपको उपाधि जितेर नयाँ वर्ष २०२० को सुरुआत उपाधिसहित गर्ने सपना बोकेर साउदी अरेबिया पुगेको थियो । बार्सिलोनाको टोलीमा पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनबाहेक सबै खेलाडी उपलब्ध थिए, चोट र प्रतिबन्धको चिन्ता टोलीलाई थिएन ।

तर, सेमिफाइनलमै बार्सिलोनाको उपाधि सपना एथ्लेटिको मड्रिडले खरानी बनाइदियो । दोस्रो हाफको सुरुआतमै गोल खाएपछि पछि परेर २–१ को अग्रता लिए पनि खेलको अन्त्यतिर २ गोल खाएपछि बार्सिलोनाले सुपर कपको फाइनल जाने बाटै देख्न पाएन । ३–२ को रोमाञ्चक जित निकाल्दै एथ्लेटिकोले रियल मड्रिडसँग फाइनलको भेट पक्का गरेको थियो ।
नकआउट प्रतियोगितामा बार्सिलोनालाई एथ्लेटिको सधैं भिलेन

यसपटक सुपर कपमा एथ्लेटिकोको हातबाट पराजित हुँदै आउट हुँदा बार्सिलोनाका लागि भने उही पुरानो कथा दोहोरियो– नकआउटमा एथ्लेटिकोसँग सधैं पीडित । सन् २०१४ देखि २०२० सम्म आइपुग्दा यो ६ वर्षको अवधिमा बार्सिलोना लिग प्रतिस्पर्धी क्लब एथ्लेटिकोको हातबाट तीनपटक महत्त्वपूर्ण प्रतियोगितामा आउट भएको छ ।

पहिलो– सिजन २० १३–१४ मा बार्सिलोना च्याम्पियन्स लिगबाट आउटा हुँदा त्यसबेला एथ्लेटिको नै तगारो बनेको थियो । त्यसबेला एथ्लेटिकोले एग्रीगेटमा २–१ ले हराउँदै बार्सिलोनालाई अन्तिम आठबाटै बिदा गर्दै एथ्लेटिको सेमिफाइनल पुगेको थियो । एथ्लेटिकोलाई पछि फाइनलमा रियल मड्रिडले हराएर उपाधि जितेको थियो ।

दोस्रो – सिजन २०१५–२०१६ मा पनि बार्सिलोना र एथ्लेटिकोको भेट च्याम्पियन्स लिगको अन्तिम आठमै भयो । र, त्यहाँ पनि बार्सिलोनाको उपाधि सपनामा एथ्लेटिकोले नै आगो लगायो । २०१४–१५ मा ट्रिबेल उपाधि जितेको बार्सिलोनालाई अर्को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमै एथ्लेटिकोले हावा खुवाइदियो । बार्सिलोनालाई एग्रीगेटमा ३–२ ले हराउँदै फाइनल पुगेको एथ्लेटिको आफू भने फेरि पनि रियल मड्रिडकै हातबाट पराजित भयो ।

तेस्रो– यो सिजन बार्सिलोना र एथ्लेटिको मड्रिडको भेट सुपर र कपमा भयो । यसै वर्षदेखि नयाँ ढाँचामा खेलाइएको नकआउट प्रतियोगितामा एथ्लेटिकोले फेरि पनि बार्सिलोनालाई उपाधिको रिङबाट बाहिर पठायो । एथ्लेटिको यो खेल जितेर फाइनल मात्रै पुगेन, बार्सिलोनालाई निकै पीडादायाी चोट पनि दियो ।

किनभने, यसपटकको हार बार्सिलोनाका लागि कीर्तिमानी हार हो । अर्थात्, युरोपका टप–५ लिगमा कुनै पनि क्लब ६ वर्षको बीचमा सबैभन्दा बढी तीनपटक नकआउट प्रतियोगितामा एकै क्लबसँग पराजित हुने बार्सिलोना पहिलो क्लब हो ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार १९:०३
Loading...