रोमाका प्रशिक्षकको चुनौती– ‘रोनाल्डोलाई हामी देखाइदिन्छौं’

एजेन्सी, पुस २७
इटालियन सिरी ए फुटबल प्रतियोगितामा आज युभेन्टस र रोमाको रोमाञ्चक खेल हुँदैछ । हाल अंक तालिकाको दोस्रो स्थानमा रहेको युभेन्टस आज रातिको खेल जितेर लिग लिडर बन्ने लक्ष्यसहित रोमाको घरमा उत्रिँदैछ । रोमा हाल चौथो स्थानमा छ । खेल राति १ः३० बजेबाट सुरु हुनेछ ।

सो खेलअघि रोमाका प्रशिक्षक पाउलो फोनसेकाले युभेन्टस र उसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कडा चुनौती दिएका छन् । उनले युभेन्टसलाई ‘देखाइदिने’ र खेलपछि रोनाल्डो ‘रोमासँग रिसाउने’ बताएका छन् । फोनसेकाले आफ्नो घरमा युभेन्टसलाई हराउन आफूहरूले निकै राम्रो तयारी गरेको बताएका छन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै फोनसेकाले भनेका छन्, ‘जब हामी हाम्रा दर्शकमाझ युभेन्टसविरुद्ध खेल्नेछौं, मेरा खेलाडीले उनीहरूलाई हाम्रो स्तर देखाइदिनेछन् । यो खेल एक शानदार खेल हुनेछ । हामी त्यसका लागि तयार छौं ।’

फोनसेकाले खेलपछि युभेन्टसका सुपरस्टार रोनाल्डो सम्हालिन नसकेर रिसाउने भन्दै कडा चुनौती दिए । ‘म उनीबारे धेरै बोल्दिनँ । मलाई लाग्छ, खेल सकिएपछि उनी सम्हालिन नसकेर रोमासँग निकै रिसाउनेछन्,’ फोनसेकाले भने, ‘हामी यो खेल जित्न मात्रै चाहँदैनौं, लिगकै बलियो र विश्वकै उत्कृष्ट खेलाडी भएको टिमलाई स्तब्ध बनाउन पनि चाहन्छौं ।’

यसअघिको खेलमा युभेन्टसले आफ्नो घरमा क्याग्लिअरीलाई ४–० ले हराउँदा रोनाल्डोले रोमाञ्चक ह्याट्रिक गर्दै १ गोलमा असिस्ट गरेका थिए । यता, रोमा भने अघिल्लो खेलमा टोरिनोसँग आफ्नै घरमा ०–२ ले पराजित भएको थियो ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार १२:२५
Loading...