फाइनलमा ‘हार्न नजान्ने’ जिदान : आठ फाइनलमा आठ उपाधि !

काठमाडौं, पुस २७
स्पेनिस रियल मड्रिडले प्रमुख प्रशिक्षक जिनेदिन जिदानको कमान्डमा आज आइतबार राति यो सिजनको पहिलो उपाधि भिडन्त सुपर कपको फाइनलमा एथ्लेटिको मड्रिडसँग गर्दैछ । रियलले सेमिफाइनलमा भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनल पुग्दा अर्को खेलमा एथ्लेटिकोले बार्सिलोनालाई ३–२ ले हराएर रियलसँग फाइनल भेट तय गरेको थियो ।

जिदान अहिले रियलको दोस्रो चरणको प्रशिक्षण इनिङ सम्हालिरहेका छन् । उनी गत सिजन सान्टियागो सोलारीलाई प्रतिस्थापन गर्दै खराब अवस्थामा रियल सम्हाल्न आइपुगेका थिए । त्यसअघि उनले सन् २०१८ मा रियल छाडेका थिए । रियलमा दोस्रोपटक प्रशिक्षक बनेका जिदानबाट क्लबले ठूलो अपेक्षा गरेको छ ।

गत सिजन टोलीमा फर्किंदा रियल सबैखाले उपाधि होडबाट बाहिर गइसकेको थियो । तसर्थ जिदानले सिजन औपचारिकताका लागि मात्रै पूरा गरे । तर, यो सिजन जिदानका अघि सबै उपाधि खुला छन् । र, आज उनले आफ्नो टिमलाई सिजनको पहिलो उपाधि भिडन्तमा खेलाउँदैछन् ।

जिदान साउदीमा हुने सुपर फाइनल खेलबाट यो सिजन तथा वर्ष २०२० को पहिलो उपाधि उचाल्ने दाउमा छन् । खेलअघि जिदानले मिडियासँग बोल्दै आफूहरू उपाधि जित्न तयार रहेको बताएका छन् ।

जिदानका आठ फाइनल, आठ उपाधि !

फ्रान्सका प्रशिक्षक जिदान विश्व फुटबलमा सफल कोचहरूमध्येमा पर्छन् । युरोपियन फुटबलमा त जिदान सफल कोचमा मात्रै पर्दैनन्, सबैभन्दा थोरै समयमा धेरै उपाधि जित्न प्रशिक्षक नै हुन् । त्यत्ति मात्रै हैन, रियलबाट लगातार तीन सिजन च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने जिदान धर्तीकै एक मात्रै प्रशिक्षक हुन् ।

यस्तो शानदार रेकर्ड रहेका जिदानले सिनियर टोलीको प्रशिक्षण रियलाटै थालेका हुन् । उनले रियलको टोली सम्हालिकन हालसम्म कूल आठ फाइनल खेलेका छन् । र, आठ वटै फाइनलमा उपाधि पनि जितेका छन् । जिदान आफूले खेलेका सबै फाइनल खेलमा उपाधि जित्ने २१औं शताब्दीका एक मात्रै प्रशिक्षकको रेकर्ड भएका व्यक्ति हुन् ।

पाइला नवौं फाइनलमा, नजर नवौं उपाधिमा !

आइतबार राति रियलले सुपर कपको फाइनलमा ला लिगाको बलियो टोली एथ्लेटिकोविरुद्ध खेल्दा जिदानका लागि प्रशिक्षकका रूपमा नवौं फाइनल हुनेछ । उनले आफ्नो करिअरको नवौं तथा रियलका लागि पनि नवौं फाइनल खेल्दा नवौं उपाधि जित्ने दाउमा छन् ।

उनले आफ्नो च्याम्पियन कोचको रेकर्ड र यात्रालाई निरन्तरता मात्रै दिने दाउमा छैनन्, टिमलाई नयाँ सिजन र वर्ष २०२० को पहिलो उपाधि जिताउन पनि चाहन्छन् ।

यता, आइतबारको फाइनल खेल जिदानका लागि दोस्रोपटक रियलको प्रशिक्षक बनेर किन आएँ भनेर साबित गर्ने मौका पनि हो । गत सिजन सर्वनाक हालत व्यहोरेको रियललाई आफ्नो शानमा फर्काउने जिम्मेवारी बोकेका जिदान पुनः प्रशिक्षक बनेपछिको पहिलो फाइनल खेल हरहालतमा जिताएर ‘म जिनेदिन जिदान हुँ’ भन्ने सन्देश दिन चाहन्छन् ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार ११:४६
Loading...