आज युभेन्टस र रोमाको रोमाञ्चक भिडन्त हुँदै : लिग लिडर बन्ने दाउमा युभेन्टस

काठमाडौं, पुस २७
इटालियन सिरी ए फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ । लिगको १९औं साताको खेलमा युभेन्टस र रोमा आमनेसामने हुँदैछन् । हाल अंक तालिकाको चौथो स्थानमा रहेको रोमाले दोस्रो स्थानको युभेन्टसलाई आफ्नो सहर रोममा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेदेखि रोमाको घरेलु मैदानमा सुरु हुनेछ ।

हाल युभेन्टस १८ खेलबाट ४५ अंकसहित दोस्रो स्थानमा छ । ऊ एक खेल बढी खेलेको इन्टर मिलानभन्दा १ अंकले पछि छ । रोमा समान १८ खेलबाट ३५ अंकसहित चौथो स्थानमा छ ।

युभेन्टस आज अवे मैदानमा हुने यो खेल जितेर लिगको शीर्ष स्थानमा चढ्ने दाउमा छ । यसअघि आफ्नो घरमा क्याग्लिअरीलाई ४–० ले हराएको युभेन्टस आज अर्को स्पष्ट जितेको खोजीमा हुनेछ ।

यसअघि युभेन्टसको शानदार जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै १ गोलमा असिस्टसमेत गरेका थिए । रोनाल्डोले जारी सिजन १३ गोल गरिसकेका छन् । रोनाल्डो आज पनि गोल गरेर गोल संख्या बढाउने दाउमा हुनेछन् ।

तर, आफ्नो घरमा रोमा आज युभेन्टसका लागि सहज भने हुनेछैन । पछिल्ला ५ खेलमा ३ खेल जितेर एक खेल बराबरी गर्दै एक खेल हारेको रोमा आज युभेन्टसलाई घरमा स्तब्ध बनाउन तयार छ ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार ११:४३
Loading...