सुपर कपको उपाधिका लागि आज एथ्लेटिको र रियल मड्रिड भिड्दै

काठमाडौं, पुस २७
जारी सिजनको स्पेनिस सुपर कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि रियल मड्रिड र एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त हुन लागेको हो । यसैपटकदेखि नयाँ ढाँचामा हुँदै गरेको प्रतियोगिताको उपाधि जितेर दुवै टिम नयाँ वर्ष २०२० को सुरुआत उपाधिसहित गर्ने योजनामा छन् ।

यसअघि सेमिफाइनलमा एथ्लेटिकोले बार्सिलोनालाई ३–२ ले हराएर फाइनल पुग्दा त्यसअघि रियल मड्रिडले भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनलमा स्थान बनाएको हो । सिजनको पहिलो उपाधिका लागि हुने मड्रिड डर्बी भिडन्तलाई निकै महत्त्वसाथ हेरिएको छ ।

साउदीमा जारी प्रतियोगिताको फाइनल खेल किङ अब्दुल्हा स्पोर्टस् सिटी रंगशालामा नेपाली समयअनुसार राति ११ः४५ बजेबाट हुनेछ । यसअघिका दुई सेमिफाइनल खेल पनि यसै रंगशालामा भएका थिए ।

यसअघि सेमिमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेल निकै रोमाञ्चक हुने पक्का छ । रियलले भ्यालेन्सियाविरुद्ध उत्कृष्ट खेलेको थियो भने एथ्लेटिकोले लिओनल मेस्सीको टिम बार्सिलोनालाई रोमाञ्चक स्थितिबाट हराएको थियो ।

रियललाई मिडफिल्डरको भर, एथ्लेटिको उच्च मनोबलमा

रियल सुपर कपमा आफ्ना प्रमुख र अनुभवी ३ जना फरवार्डबिनै खेलिरहेका छन् । इडेन हाजार्ड लामो समयदेखि घाइते छन् भने ला लिगाको पछिल्लो खेलमा ग्यारेथ बेल र करिम बेन्जेमा पनि घाइते भएपछि उनीहरू साउदी टुरमै छैनन् ।

टोलीका प्रमुख फरवार्डबिनै पनि रियलले भ्यालेन्सियाविरुद्ध उत्कृष्ट खेलेको थियो । सो खेलमा प्रशिक्षक जिदानले ५ जना मिडफिल्डर खेलाएका थिए । टोलीका लागि ३ वटै गोल मिडफिल्डरले नै गरेका थिए । आज पनि जिदानले उपाधि होडमा यस्तै फर्मेसन उतार्ने सम्भावना छ । जिदान हरहालतमा आज यो खेल जितेर सिजनको पहिलो तथा रियलमा दोस्रोपटक आएपछिको पहिलो फाइनल जितेर रेकर्ड बनाउने दाउमा छन् ।

यता, एथ्लेटिको भने सेमिमा बार्सिलोनालाई हराएर आएकाले रियलविरुद्ध उच्च मनोबलका साथ खेल्नेछ । रियलविरुद्ध उसले बार्सिलोनाविरुद्धकै जस्तो अप्रत्यासित नतिजा निकाल्न प्रयास गर्नेछ ।

रियललाई ७–३ को बदला लिने मौका !

यो सिजन सुरु हुनुअघिको मैत्रीपूर्ण खेल इन्टरनेसनल च्याम्पियन्सस कपमा रियलले एथ्लेटिकोसँग ७–३ को लज्जास्पद हार व्यहोरेको थियो । आज सुपर कपको उपाधि भिडन्त हुँदा रियल एथ्लेटिकोसँग सो हारको बदला लिने दाउमा छ । रियल उपाधि भिडन्तमा एथ्लेटिकोलाई हराएर एक वर्षअघिको लज्जास्पद हारको हिसाब मिलान गर्न उत्साहित छ । ला लिगामा यो सिजन भएको पहिलो लेगको खेल भने ०–० मा सकिएको थियो ।

पछिल्ला १४ खेलमा लगातार अपराजित रहँदै आएको रियलको टोलीमा आज गोलकिपर थिबाउट कोर्टुवा प्रमुख हतियार हुनेछन् । उनले पछिल्ला १२ खेलमध्ये ७ खेलमा क्लिन सिट राखेका छन् । र, उनी उत्कृष्ट फर्ममा छन् । सेमिमा भ्यालेन्सियाविरुद्ध पनि उनले पेनाल्टीमार्फत् मात्रै गोल खाएका थिए । सो खेलमा उनले ६ उत्कृष्ट बचाउ गरेर टिमलाई जोगाएका थिए ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार १०:५१
Loading...