इन्टर मिलान घरेलु मैदानमा हारबाट मुस्किलले बच्यो : युभेन्टसलाई फाइदा !

काठमाडौं, पुस २८
यो सिजन इटालियन घरेलु लिगमा उत्कृष्ट लयमा रहेको इन्टर मिलानलाई झट्का लागेको छ । गत राति लिगको १९औं खेलमा मिलान आफ्नै घरेलु मैदानमा एट्लान्टासँग १–१ को बराबरीमा रोकिएको छ । खेलको अन्तिम समयमा एट्लान्टाले पेनाल्टी मिस गर्दा मिलान घरेलु मैदानमा हारबाट बचेको हो ।

यो बराबरीसँग नापोलीले २ अंक गुमाएको छ । र, यसको सोझो फाइदा भने युभेन्टसलाई पुग्ने भएको छ । पछिल्लो समय लिगको दोस्रो स्थानमा रहँदै आएको युभेन्टसलाई अब आफ्नो १९ औं खेल जितेर लिग लिडर बन्ने मौका छ ।

मिलानको घरमा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले खेल सुरु भएको चौथो मिनेटमै निकै सुन्दर गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लो प्रहारमा हानेको शक्तिशाली प्रहारले सोझै जाली चुमेको थियो । मार्टिनेजले रोमेलु लुकाकुको पासमा गोल गरेका थिए ।

सोही गोलको अग्रता लिएर घरेलु टोली जिततर्फ अघि बढेको थियो । तर, खेलको ७५औं मिनेटमा एट्लान्टाका लागि रोबिन गोएसेन्सले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८८औं मिनेटमा पाहुना टोली एट्लान्टाले खेल जित्ने अवसर थियो । बक्समा मिलानका डिफेन्डरले फउल गरेपछि पाएको पेनाल्टीमा लुइस फर्नान्डाको प्रहार मिलानका गोलकिपरले रोकेपछि घरेलु टोली हारबाट बेचेको थियो ।

अब यो बराबरीपछि पनि मिलान १९ खेलबाट ४६ अंक जोडेर पहिलो स्थानमा कायमै छ । एक खेल कम खेलको युभेन्टस ४५ अंकसहित दोस्रो स्थानमा छ । एट्लान्टा ३५ अंकसहि पाँचौं स्थानमा छ ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०८:४४
Loading...