प्रिमियर लिग : चेल्सीको शानदार जित, दोस्रो स्थानको लेस्टर घरमै पराजित

काठमाडौं, पुस २६
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । शनिबार राति भएको लिगको २२औं खेलमा चेल्सीले पाहुना टोली बर्नलीलाई ३–० ले हरायो ।

आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीका लागि खेलको २७औं मिनेटमा जर्जिन्होले पहिलो गोल पेनाल्टीमार्फत् गरेका थिए । त्यसपछि ३८औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सी पहिलो हाफमा २–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको ४ मिनेटमै चेल्सीका लागि कालुम हुडसन ओडीले गोल गरेपछि चेल्सी खेलमा ३–० ले अघि रह्यो । त्यसपछि बाँकी समयमा थप गोल नभएपछि खेल चेल्सीले ३–० को सहज सुविधासहित जित्यो ।

यता, शनिबारै भएको अर्को खेलमा लिगको दोस्रो स्थानको लेस्टर सिटी भने आफ्नै घरमा पराजित भएको छ । लेस्टरलाई भ्रमणकारी टोली साउथह्यामपटनले पछि परेको अवस्था उल्टाएर १–२ ले हरायो ।

आफ्नो घरमा लेस्टरका लागि १४औं मिनेटमा डेनिस प्राइटले गोल गरेका थिए । तर, साउथह्यामपटनका लागि खेलका १९औं मिनेटमा स्टर्ट आर्मस्ट्रङ र ८१औं मिनेटमा ड्यानी इङ्सले गोल गरेपछि खेल साउथह्यामपटले १–२ ले जित्यो ।

अब यो जितसँगै चेल्सीले २२ खेलबाट ३९ अंकसहित आफूलाई चौथो स्थानमा सुरक्षित राखेको छ भने लेस्टर सिटी पनि ४५ अंकसहित दोस्रो स्थानमा यथावत छ । ऊ एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा १ अंकले अघि छ ।

प्रकाशित मिति २६ पुष २०७६, शनिबार २२:५९
Loading...