घरेलु मैदानमा सिटीको पोस्टमा युनाइटेडद्वारा गोलको वर्षा

काठमाडौं, पुस २६
प्रशिक्षक ओले गुनरको जागिर धरापमा परेका बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । शनिबार राति भएको लिगको २२औं खेलमा युनाइटेडले पाहुना टोली नर्विच सिटीलाई ४–० को हार चखायो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन मार्कुस रासफोर्डले २ गोल गर्दा एन्थोनी मार्सियाल र मासुन ग्रीनउडले १–१ गोल गरे । युनाइटेडले खेलको २७औं मिनेटमा रासफोर्डको गोलबाट अग्रता लिएको थियो । सोही गोलको मदतमा युनाइटेड पहिलो हाफमा १–० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा युनाइटेडले आक्रामक खेल खेल्दै थप गोल निकाल्यो । जहाँ ५२औं मिनेटमा रासफोर्डले नै पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गरे । नर्विचका खेलाडीले बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा रासफोर्डले गल्ती गरेनन् । लगत्तै २ मिनेटपछि नै मार्सियालले गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ७६औं मिनेटमा ग्रीनउडले सुन्दर गोल गरेपछि खेल युनाइटेडले ४–० ले जित्यो ।

अब यो जितसँगै युनाइटेडले २२ खेलबाट ३४ अंक जोडेर लिगको पाँचौं स्थानमा चढेको छ । पराजित नर्विच मात्रै १४ अंकसहित २०औं स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७६, शनिबार २२:३९
Loading...