दोस्रो इनिङमा ज्लाटनले खोले गोलको खाता : टुंगियो मिलानको जितविहीन यात्रा

काठमाडौं, पुस २६
स्वीडेनका भेट्रान खेलाडी ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलानका लागि दोस्रो इनिङमा गोलको खाता खोलेको खेलमा क्लबले ८ खेलसम्मको जितविहीन यात्रा टुंगाएको छ । शनिबार भएको लिगको १९औं खेलमा मिलानले अवे मैदानमा क्याग्लिअरीलाई ०–२ ले हरायो ।

अघिल्लो साता मात्रै मिलानमा अनुबन्ध भएका ज्लाटनले आफू दोस्रोपटक मिलानमा अनुबन्ध भएपछिको दोस्रो खेलमा गोल गर्न सफल भए । यसअघिको खेलमा मिलान साम्पडोरियासँग ०–० मा रोकिएको थियो । सो खेलमा उनले बेन्चबाट डेब्यु गरेका थिए ।

तर, दोस्रो खेलमा ज्लाटनले गोलको खाता खोल्दै टिमको जितमा योगदान दिए । यो जितसँगै मिलानले ८ खेलसम्मको जितविहीन यात्रामा पूर्णविराम लगाउँदै नवौं खेलमा जितको स्वाद चाख्न पनि पाएको छ ।

क्याग्लिअरीको घरमा भएको खेलमा मिलानका लागि ४६औं मिनेटमा राफाएल लियाओले पहिलो गोल गर्दा ६४औं मिनेटमा ज्लाटनले गोल गरेका थिए । ज्लाटनले दोस्रो गोल पनि गरेका थिए । तर, उनको गोललाई भिएआरले रद्द गरेको थियो ।

अब यो जितसँगै मिलानले १९ खेलबाट २५ अंक जोड्दै लिगको आठौं स्थानमा चढेको छ । पराजित क्याग्लिअरी २९ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७६, शनिबार २२:०८
Loading...