आर्सनल बराबरीमा रोकियो : रातो कार्ड पाउँदा अउबामेयाङको आँखामा आँसु

काठमाडौं, पुस २६
इंग्लिस प्रिमियर लिग फुटबलमा १० खेलाडीमा सीमित आर्सनल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको लिगको २२औं खेलमा आर्सनलले प्यालेससँग अंक बाँड्न बाध्य भयो ।

अउबामेयाङले खेलको ६७औं मिनेटमा रातो कार्ड पाएपछि आर्सनललाई ठूलो झट्का लागेको थियो । विपक्षी टिमका खेलाडी मेयरमाथि गम्भीर फउल गरेको आरोपमा उनलाई भिएआरले रातो कार्ड दिएको थियो । त्यसअघि मैदानका रेफ्रीले उनलाई पहेंलो कार्ड मात्रै दिए पनि भिएरआले रातो कार्ड दिएको थियो ।

अउबामेयाङले मेयरमाथि नियतवस ट्याकल गरेका थिएनन् । मेयरलाई छेक्न खोज्दा उनको खुट्टाले घुँडामा लागेको थियो । भुलवस भएको फउलमा सोझै रातो कार्ड पाएपछि अउबामेयाङले आँखाभरि आँसु बनाउँदै मैदान छाडे । र, आर्सनल १० खेलाडीमा सीमित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली आर्सनलका लागि खेलको १२औं मिनेटमा आउबामेयाङले सुन्दर फिनिसिङमा गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । सोही गोलको मदतमा आर्सनलले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

तर, खेलको ५४औं मिनेटमा प्यालेसका लागि जोर्डन आइवले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि ६७औं मिनेटमा १० खेलाडीमा झरेको आर्सनलले लगातार गोलका लागि संघर्ष गर्यो । खेलको अन्तिम समयमा पेपेले हानेको एक शानदार प्रहार पोलमा लागेर फर्किंदा आर्सनल जितबाट चुक्यो । र, खेल १–१ मा सकियो । अब यो जितसँगै आर्सनलले २२ खेलबाट २८ अंक जोडेको छ । ऊ लिगको १०औं स्थानमा छ । प्यालेस २९ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७६, शनिबार २०:४४
Loading...