यसरी हुँदैछन् रोनाल्डो र मेस्सी फेरि आमनेसामने

काठमाडौं, पुस २६
सधैं चर्चा र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रतिस्पर्धामा रहने स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी र इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो यो सिजन पुनः आमनेसामने भएका छन् । उमेरले फेब्रुअरीदेखि ३५ वर्ष टेक्न लागेका पोर्चुगिज रोनाल्डो र ३२ वर्षका अर्जेन्टिनी लिओनल मेस्सीबीच जारी सिजन गोल संख्यामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।

सिजनको सुरुआतमा मेस्सी केही समय चोटबाट गुज्रिँदा उनले सुरुआतका खेल खेल्न पाएनन् । यता, रोनाल्डोले सुरुआतबाटै खेले पनि उनी लामो समय गोलको खडेरीबाट गुज्रिएका थिए । क्लब फुटबलमा गोल स्कोरिङमा खडेरी परिरहेका बेला रोनाल्डोले पोर्चुगलको टोलीमा गएर ह्याट्रिकसहित दुई खेलबाट ५ गोल गरेका थिए ।

तर, समयक्रमसँगै रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । युभेन्टसको पछिल्लो खेलमा पनि उनले शानदार ह्याट्रिक गरेका थिए । यता, बार्सिलोनाका मेस्सी पनि आफ्नो लयमै प्रदर्शन गरिरहेका छन् । रोनाल्डोको टिम युभेन्टस र मेस्सीको टिम बार्सिलोना दुवै यो सिजनको सुपर कपबाट आउट भए पनि दुवै खेलाडीको गोल संख्या राम्रो छ । र, उनीहरूबीच प्रतिस्पर्धा जारी छ । घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगमा दुवै खेलाडीको गोल संख्या बराबरी छ । समग्रमा मेस्सी रोनाल्डोभन्दा १ गोलले अघि छन् ।

पछिल्लो समय ला लिगामा उत्कृष्ट लयमा रहेका मेस्सी हालसम्म ला लिगाको सर्वाधिक गोलकर्ता हुन् । उनले १३ गोल गरिसकेका छन् भने ६ असिस्ट पनि गरेका छन् ।

यता, रोनाल्डोले युभेन्टसका लागि घरेलु लिग सिरी ‘ए’ मा १३ गोल गरेका छन्, जुन मेस्सीकै बराबरी हो । रोनाल्डो इटालियल लिगका सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । रोनाल्डो र मेस्सीको यो सिजनको हालसम्मको सम्पूर्ण तथ्यांक हेरौं–

रोनाल्डो (युभेन्टस)

सिरी ए – खेल १५, गोल १३, असिस्ट २
च्याम्पियन्स लिग – खेल ६, गोल २, असिस्ट ०
समग्रमा – खेल २२, गोल १५, असिस्ट २

मेस्सी (बार्सिलोना)

ला लिगा – खेल १४, गोल १३, असिस्ट ६
च्याम्पियन्स लिग – खेल ५, गोल २, असिस्ट ०
समग्रमा – खेल २०, गोल १६, असिस्ट ६

प्रकाशित मिति २६ पुष २०७६, शनिबार १३:४३
Loading...