बार्सिलोनालाई यो सिजन ‘स्पेनमा कुनै पनि उपाधि जित्न नदिने’ जिदानको चेतावनी !

एजेन्सी, पुस २६
स्पेनिस क्लब रियल मड्रिड जारी सिजनको सुरुआतमा केही समस्यामा देखिए पनि पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको छ । सबैखाले प्रतियोगिता गरेर रियल लगातार पछिल्ला १४ खेलमा अपराजित रहेको छ । उसले यी १४ खेल खेल्दा कुनै पनि खेल हारेको छैन ।

रियलले हारको स्वाद नचाखेको ८२ दिन भइसकेको छ । ला लिगामा मालोर्सासँगको खेलेयता रियलले ९ खेलमा स्पष्ट जित निकालेको छ भने ५ खेल बराबरी गरेको छ ।

यी १४ खेलअघि रियलले १२ खेलबाट १४ गोलको सामना गरेको थियो । त्यसबेला रियलको रक्षापंक्ति निकै फितलो देखिएको थियो भने गोलकिपर थिबाउट कोर्टुवा खराब अवस्थामा थिए ।

तर, उनीहरूले पछिल्ला १४ खेलमा मात्रै ७ गोलको सामना गरेका छन् भने कोर्टुवाले खेलेका १२ खेलमध्ये ७ खेलमा क्लिन सिट राखेका छन् । सोक्रममा रियलले विपक्षीको पोस्टमा कूल ३५ गोल हान्यो ।

सो अवधिमा रियलले ठूलो जित निकाल्नेक्रममा इएबारलाई ०–४, गेटाफेलाई ०–३, भ्यालेन्सियालाई १–३ ले हराउँदा च्याम्पियन्स लिगमा पिएसजीसँग २–२ को बराबरी खेल्यो भने इएल क्लासिकोमा बार्सिलोनासँग पनि ०–० को बराबरी खेल्यो ।

दुई दिनअघि रियलले सुपर कपको सेमिफाइनलमा भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनल पुगेको छ । उपाधिका लागि उसले एथ्लेटिको मड्रिडसँग खेल्दैछ । रियले यो सिजन कुनै पनि हालतमा घरेलु लिगसहित प्रमुख उपाधि जितेर बार्सिलोनालाई खाली हात बनाउने दाउमा छ ।

प्रशिक्षक जिनेदिन जिदानले भ्यालेन्सियालाई हराएपछि नै मिडियासँग बोल्दै च्याम्पियन्स लिग आफूहरूका लागि जति महत्त्वपूर्ण छ, यो सिजन ला लिगा र कोपा डेल रे कप पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएर बार्सिलोनालाई रातो बत्ती बालिदिएका थिए । जिदानले सबैखाले घरेलु प्रतियोगिता रियलले जित्ने दाबी गरेका छन् ।

ला लिगामा हाल बार्सिलोना र रियल समान ४०–४० अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोना मात्रै २ गोल बढी भएर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २६ पुष २०७६, शनिबार ०८:०५
Loading...