सुपर कप हारेपछि मेस्सीको चिन्ता– ‘बार्सिलोना कठिन अवस्थामा आइपुग्यो’

एजेन्सी, पुस २५
स्पेनिस क्लब बार्सिलोना जारी सिजनअन्तर्गत सुपर कप फुटबलको सेमिफाइनलबाटै आउट भएपछि क्लबमा एक प्रकारको हलचल सुरु भएको छ । अहिले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई क्लबले बर्खास्त गर्न सक्नेसम्मका चर्चा सुरु भएका छन् भने खेलाडीले अनेक चिन्ता व्यक्त गरिरहेका छन् । बार्सिलोनालाई ३–२ ले हराएर एथ्लेटिको मड्रिड फाइनल पुगिसकेको छ ।

गत रातिको खेलपछि टोलीका कप्तान लिओनल मेस्सीले बार्सिलोना कठिन समयमा आइपुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । खेलपछि मिडियालाई प्रतिक्रिया दिँदै मेस्सीले सुपर कप हार्नु नै ठूलो चिन्ता नभएको भन्दै टिमको अवस्था चिन्ताजनक रहेको बताए । ‘साँच्चै हामी कठिन अवस्थामा आइपुग्यौं । किनभने, हामीले जित्नैपर्ने उपाधि गुमायौं,’ उनले भने ।

मेस्सीले अघि थपे, ‘म व्यक्तिगत रुपमा यो उपाधि हारियो भन्ने भन्दा पनि अबका दिनमा टिम कसरी अघि बढ्छ भन्ने कुराले चिन्तित छु । हामी अहिले जुन अवस्थामा छौं, त्यो खराब अवस्था हो ।’

मेस्सीले टिमले जारी सिजनका बाँकी प्रतियोगिता खेल्न व्यापक सुधार गर्नुपर्ने पनि बताए । ‘सिजनका बाँकी प्रतियोगिता खेल्न र उपाधि जित्न हामीले पर्याप्त सुधार गर्नु आवश्यक छ । हामी अहिले समग्रमा जुन स्तरमा छौं, यसले धेरै परसम्म पुग्न सकिँदैन ।’

मेस्सीले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको बचाउ गर्न पनि भ्याए । उनले भाल्भर्डे टिम सम्हान्न योग्य रहेको बताए । ‘भाल्भर्डेसँग टिम सम्हाल्न आवश्यक ऊर्जा र आत्मविश्वास छ । टिम उनीसँग छ,’ मेस्सीले थपे ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार २१:३७
Loading...