फेलिक्सले मेस्सीलई ‘तिमी चुप लाग’ भनेपछि ……. (भिडियोसहित)

एजेन्सी, पुस २५
स्पेनिस सुपर कप फुटबलअन्तर्गत सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट आउट भयो । गत राति साउदी अरेबियामा भएको सेमिफाइनल खेलमा बार्सिलोनाले पछि परेको अवस्था उल्टाएर अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा फाइनलको यात्रा एथ्लेकिोलाई सुम्पियो । बार्सिलोनाका २ गोल भिएआरले रद्द गरेको थियो । १ गोलमा ह्यान्ड बल थियो भने १ गोलमा अफसाइड ।

साउदीको किङ अब्दुल्हा स्पोर्ट्स सिटी रंगशालामा भएको सो खेल निकै घम्साघम्सी र तनावपूर्ण भएको थियो । खेलको सुरुआतबाट दुवै टोलीका खेलाडी लगातार फउलमा उत्रिए भने खेलाडीबीच भनाभन र ठेलाठेलका स्थिति पटक–पटक देखिए ।

सोहीक्रमा गोलरहित बराबरीमा सकिएको पहिलो हाफको अन्तिम समयमा एथ्लेटिकोका नयाँ खेलाडी जुआओ फेलिक्स र बार्सिलोनाका जोर्डी अल्बाबीच हात हालाहाल नै भयो । फउलको विषयमा अल्बाले हातको औंलाले फेलिक्सको अनुहार घोचेपछि फेलिक्सले पनि अल्बाको हात आफ्नो अनुहारबाट पन्छाउँदै अल्बालाई धक्का दिएका थिए । पछि बार्सिलोनाका सामुएल उम्टिटी र एथ्लेटिकोका अल्भारो मोराटाले फेलिक्स र अल्बालाई अलग गर्छन् ।

सो सिन सकिएपछि बार्सिलोनाका कप्तान लिओनल मेस्सी र फेलिक्सको भेट भयो । अल्बासँगको टकरावपछि बार्सिलोनाका कप्तान मेस्सी फेलिक्स नजिक पुगेर केही भन्न थाल्छन् । फेलिक्स पनि के कम ! उनी मेस्सीसँग भिड्न तयार भएझैं पोजिसनमा खडा हुन्छन् । र, मेस्सीसँग भनाभनमा उत्रिन्छन् ।

स्पेनिस मिडियाले त्यसबेलाको फुटेज संवाद सार्वजनिक गरेका छन् । जसअनुसार मेस्सीले फेलिक्सलाई ‘तिमीले के भन्यौ ?’ भनेर आक्रोशित हुँदै सोध्छन् । त्यसपछि फेलिक्सले मेस्सीलाई ‘तिमी चुप लाग’ भन्दै जवाफ फर्काउँछन् । त्यहाँ पनि हात हालाहालको स्थिति बनेपछि बार्सिलोनाका पिके र मोराटाले मेस्सी र फेलिक्सलाई अलग गराउँछन् । तब मेस्सी सरासर ड्रेसिङ रुमतर्फ लाग्छन् ।

तर, मेस्सी हिँडेपछि फेलिक्समाथि बार्सिलोनाका लुइस स्वारेज खनिन्छन् । स्वारेज आक्रोशित बनेर फेलिक्समाथि जाइलाग्न खोज्दा एथ्लेटिकोेका अन्य खेलाडीले उनलाई पन्छाउँछन् । स्वारेज पछि हट्दैनन् । उनी अन्य खेलाडीसँग पनि ठेलाठेलमा उत्रिन्छन् । त्यहाँ फेरि फेलिक्स र स्वारेजबीच धकेलाधकेल हुन्छ । मेस्सीसँगको विषयलाई लिएर स्वारेज फेलिक्समाथि आक्रामक रूपमा खनिएपछि फेलिक्सले उनलाई ‘तिमी मुख सम्हाल, तिमी परै बस’ भन्दै गाली गर्छन् ।

दुई टोलीका खेलाडीबीच तनाव बढ्ने अवस्था बनेपछि बार्सिलोनाका पिके आएर फेलिक्सलाई पनि पछि धकेल्छन् भने स्वारेजलाई अलग गराउँछन् । त्यसैबेला रेफ्री आएर बार्सिलोनाका स्वारेज र एथ्लेटिकोका स्टेभन सेभिक दुवैलाई पहेंलो कार्ड दिन्छन् ।

अहिले सामाजिक सन्जालमा समर्थकहरूले मेस्सी र फेलिक्सको तनावलाई लिएर अनेक किस्सा र जोक्स बनाइरहेका छन् । कतिपयले फेलिक्स मेस्सीको तनावलाई ‘नयाँ रोनाल्डो र मेस्सीको भेट’ भनेर टिप्पणी गरिरहेका छन् । फेलिक्स रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोकै देश पोर्चुगलका २० वर्षीय खेलाडी हुन् । उनले अस्ति भर्खरै २०१९ मा युरोपको सर्वश्रेष्ठ युवा खेलाडीको ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका थिए ।

भिडियो हेरौं :

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार २०:०४
Loading...