युभेन्टसको टिम ‘डिनर पार्टी’मा रमाउँदै गर्दा रोनाल्डो एक्लै प्रशिक्षणमा व्यस्त !

एजेन्सी, पुस २५
बिहीबार इटालियन क्लब युभेन्सको सिनियर टिमका खेलाडीको सामूहिक डिनर पार्टी थियो । पछिल्लोपटक सिरी ‘ए’ मा क्याग्लिअरीविरुद्ध ४–० को शानदार जित निकालेपछि खेलाडी दुई दिनको ब्रेकमा रहेका बेला उनीहरूले सामूहिक डिनर गरेका हुन् ।

तर, युभेन्टसको डिनर टोलीमा क्रिस्टियानो रोनाल्डो भने सहभागी भएनन् । डिनरपछि युभेन्टसका अधिकांश खेलाडी सहभागी भएको डिनरका सामूहिक तस्बिर खेलाडीहरूले सामाजिक सन्जालमा पोस्ट गरेका छन् । तर, ती तस्बिरमा रोनाल्डो छैनन् ।

इटालियन मिडियाका अनुसार रोनाल्डो सो डिनर कार्यक्रममा सहभागी भएनन् । खास प्रशिक्षणमा सहभागी हुने भएपछि उनले टिमको सामूहिक डिनरमा सहभागिता नजनाएको बताइएको छ । बिहीबार डिनर कार्यक्रम राखिएकोमा रोनाल्डो बुधबारबाट एक्लै जिमखानामा व्यस्त थिए ।

रोनाल्डो स्वयंले इन्स्टाग्राममा जिमखानामा व्यस्त रहेको तस्बिर पोस्ट गरेका छन् । ३५ वर्ष लाग्न लागेका रोनाल्डोले अहिले लगातार प्रशिक्षण र शारीरिक व्यायामबाट आफूलाई रूपमा फिट राख्न प्रयास गरिरहेका छन् । सोहीक्रममा उनले आफूलाई आगामी खेलका लागि आफू पूर्ण रूपमा तयार पार्न टिमको डिनर पार्टी छाडेर एक्लै प्रशिक्षण गरेको इटालियन खेल मिडियाले जनाएका छन् ।

आइतबार राति घरेलु लिगमा युभेन्टसले अवे मैदानमा रोमाको सामना गर्दैछ । युभेन्टसका लागि रोमा चुनौतीपूर्ण टोली हुनेछ । लिगको एक बलियो टोलीविरुद्धको खेलका लागि तयार रहन रोनाल्डो भने अन्य सहकर्मी डिनरमा रमाइरहँदा पनि आफू एक्लै प्रशिक्षण र जिमखानामा व्यस्त हुनुले उनले रोमाविरुद्ध विशेष तयारी गरिरहेको बुझ्न सकिन्छ ।

यसअघि युभेन्टसको घरमा भएको क्याग्लिअरीविरुद्धको खेलमा रोनाल्डोले दोस्रो हाफमा शानदार ह्याट्रिक गरेका थिए । नयाँ वर्ष २०२० को पहिलो खेलमै उच्च प्रदर्शन गर्दै उनले ३ गोल र १ गोलमा असिस्ट मात्रै गरेनन्, करिअरको ५६औं ह्याट्रिक पनि पूरा गरेका थिए ।

जारी सिजन रोनाल्डोले घरेलु लिगमा १५ खेलबाट १३ गोल गरेका छन् । च्याम्पियन्स लिगमा ६ खेलबाट २ गोल गरेका छन् । उनी पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । रोनाल्डो यो सिजन युभेन्टसलाई जसरी पनि घरेलु लिगसहित युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउने अभियानमा छन् ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १८:४८
Loading...