‘म्यानचेस्टर युनाइटेड र रियल मड्रिडको प्रशिक्षक बन्नुभन्दा गल्फ खेल्नु राम्रो’

एजेन्सी, पुस २५
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफूले कहिल्यै पनि लिग प्रतिस्पर्धी क्लब म्यानचेस्टर युनाइटेड वा स्पेनिस रियल मड्रिडको प्रशिक्षक बन्न सक्ने कुरा नसोचेको र नसोच्ने पनि बताएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै पेपले यी दुई क्लबको प्रशिक्षक बन्नुभन्दा आफ्ना लागि गल्फ खेल्नु धेरै राम्रो हुने बताए ।

‘सिटीजस्तो टिमलाई प्रशिक्षण गरेर म म्यानचेस्टर युनाइटेडलाई कहिल्यै प्रशिक्षण गर्नेछैन । रियल मड्रिडलाई पनि गर्नेछैन,’ पेपले भने, ‘यी दुवै ठाउँबाट मलाई आजसम्म अफर छैन । तर, यदि थियो र मसँग अरू विकल्प थिएन भने म यतिबेला गल्फ खेलिरहेको हुनेथिएँ । र, मेरा लागि यो धेरै राम्रो हुनेथियो ।’

पेपले आफ्नो काम गर्ने शैली यी दुवै क्लबसँग नमिल्ने बताए । ‘विल्कुल फरक । यी दुवैसँग म फिट हुदिनँ, बरु गल्फमा हुन सक्छु,’ पेपले थपे ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १५:३०
Loading...