टोटनह्यामलाई ठूलो झट्का : केन चार महिना मैदानबाहिर

एजेन्सी, पुस २५
इंग्लिस क्लब टोटनह्यामलाई ठूलो झट्का लागेको छ । लिग निर्णायक मोडतिर अघि बढ्दै गर्दा तथा च्याम्पियन्स लिगमा अन्तिम १६ का खेल आउन लाग्दा टोलीका प्रमुख फरवार्ड ह्यारी केन गम्भीर घाइते भएका छन् । उनको शल्यक्रिया हुने भएको छ ।

हार्मस्ट्रिङबाट पीडित बनेका उनको शल्यक्रिया गर्ने तयारी रहेको क्लबले अफिसियल रूपमा पुष्टि गरेको छ । केन गत बुधबार प्रिमियर लिगमा साउथनह्यामपटनसँग अवे मैदानमा खेल्नेक्रममा घाइते भएर निर्धारित समयअघि नै मैदान छाडेका थिए । टोटनह्याम सो खेलमा हारेको थियो ।

केनको सम्पूर्ण चेकजाँचपछि उनको शल्यक्रिया नै गर्नुपर्ने भएकाले उनी अप्रिलसम्मा प्रशिक्षणमा फर्किन नसक्ने क्लबले पुष्टि गरेको छ । उनी मे महिनाबाट मात्रै टोलीमा फर्किन फिट हुनेछन् ।

केनको चोटसँगै अब टोटनह्यामलाई कठिनाइ बढेको छ । ऊ अहिले घरेलु लिगमा २१ खेलपछि ४० अंकसहित छैटौं स्थानमा छ । यता, च्याम्पियन्स लिगमा उसले अन्तिम १६ मा जर्मन क्लब लेइपजिग प्रतिस्पर्धी पाएको छ ।

जारी सिजन केनले घरेलु लिगमा ११ र च्याम्पियन्स लिगमा ६ गरी १७ गोल गरेका छन् । उनले कूल २५ खेल खेलेका छन् ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १०:५५
Loading...