सुपर कपबाट आउट भएपछि प्रशिक्षक र हारबारे मेस्सीको यस्तो प्रतिक्रिया

काठमाडौं, पुस २५
स्पेनिस सुपर कप फुटबलमा गत राति बार्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित भयो । साउदी अरेबियामा भएको सेमिफाइनल खेलमा एथ्लेटिकोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनालाई उपाधिको रिङबाट बाहिर पठाएर फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गर्न सफल भयो ।

सो हारपछि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले मिडियासँग प्रतिक्रिया दिँदै पराजय अकल्पनीय रहेको बताएका छन् । उनले आफूहरूले उत्कृष्ट खेले पनि नतिजा गुमेको बताए । ‘मलाई लाग्दैन, हामीले राम्रो खेलेनौं । हामीले अघिल्लो खेलभन्दा राम्रो खेल्यौं । र, उनीहरूमाथि खेलभरि नै दबाब राख्यौं,’ मेस्सीले भने, तर, दोस्रो हाफमा भिएआरले दोस्रो गोल खोस्दा खेलमा अर्कै अवस्था आयो । मलाई अहिले पनि लागछ, त्यहाँ ह्यान्ड बल थिएन । तर, यसमा हामी के गर्न सक्छौं र ?’

मेस्सीले आफूहरूले बाँकी प्रतियोगितामा अझै व्यापक सुधार गर्नुपर्ने बताए । ‘हामीले अझै ज्यादै धेरै सुधार गर्नुपर्छ । हामी लिगमा पहिलो स्थानको टोली हौं । तर, हामीले राम्रो खेलिरहेका छैनौं । हामी जुनसुकै बेला पछि पर्न सक्छौं,’ मेस्सीले भने, ‘यही अवस्थाबाट हामी अघि बढ्न र कुनै उपाधि जित्न सक्दैनौं ।’

मेस्सीले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेसँग योजना र आत्मविश्वास नरहेको भन्ने गलत रहेको बताए । ‘हैन, मलाई त्यस्तो लागदैन । उनीसँगै योजना र आत्मविश्वास छ । जित्दा सबैथोक ठीक देखिन्छ । जित्न नसक्दा यस्ता कुरा उठाइन्छ । हामीले मिलेर काम गरिरहेका छौं । मलाई यसमा शंका छैन ।’

मेस्सीले आगामी खेलमा सुधार गर्दै लगिने बताए । ‘कप हार्दैमा हामी चुप लागेर बस्दैनौं । हामीसँग अझै तीन प्रतियोगिता छन् । हामी अबका खेलमा सुधार गर्दै जानेछौं ।’

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०९:४३
Loading...