रोनाल्डोलाई रियलका फ्यानहरूको प्रेमिल सन्देश– ‘हामी तिमीलाई कहिल्यै भुल्दैनौं’

एजेन्सी, पुस २४
स्पेनिस सुपर कप फुटबलअन्तर्गत पहिलो सेमिफाइनलमा गत राति रियल मड्रिड र भ्यालेन्सियाले खेले । साउदीमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनलमा स्थान बनायो । साउदीको किङ अब्दुल्हा स्पोर्टस् सिटी रंगशालामा भएको खलमा रियलले सहज जित निकाल्दा टोनी क्रुस, लुका मोड्रिक र इस्कोले गोल गरे ।

सो खेल दौरान रियलका समर्थकहरूले भने क्लबका पूर्वसुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई एक प्रेमिल सन्देश पठाएका छन् । रियल र भ्यालेन्सियाको खेल सुरु भएदेखि नै एक हुल दर्शकले रोनाल्डोका नाममा सन्देश लेखिएको ब्यानर नै बोकेर रियलको पूरै खेल हेरे । रियलको झन्डामा रोनाल्डोका नाममा यस्तो सन्देश लेखिएको थियो–

‘सी रोनाल्डो ! हामी ४३८ खेलबाट ४५० गोल गर्ने तिमीलाई भुल्दैनौं …… तिमी अपरिवर्तनीय छौ ।’

रोनाल्डो सन् २०१८ को मध्यमा रियल छाडेर इटालियन युभेन्टस गएका थिए । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट त्यसबेलाको कीर्तिमानी मूल्यमा रियल पुगेका उनले ९ वर्ष रियलमा बिताए । रियलका सर्वाधिक गोलकर्ता र सर्वाधिक सफल खेलाडी उनले ९ वर्षमा सबैखाले प्रतियोगिताबाट कूल ४३८ खेल खेल्दै ४५० गोल गरेका थिए ।

प्रकाशित मिति २४ पुष २०७६, बिहीबार २१:४९
Loading...