‘युरोपियन फुटबलका राजा’ रोनाल्डो : दशक २०१० र वर्ष २०१९ मा बने शानदार रेकर्ड

काठमाडौं, पुस २३
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्ष २०१९ का लागि युरोपको सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । युरोपियन फुटबलमा सर्वाधिक सफल खेलाडी कहलिएका ३४ वर्षीय रोनाल्डोले २०१९ मा युरोपका विभिन्न प्रतियोगिताबाट गरी समग्रमा सबैभन्दा बढी गोल गरे ।

वर्ष २०१९ मा रोनाल्डोले क्लब र देशबाट गरी युरोपका विभिन्न प्रतिोगितामा कूल २१ गोल गरे, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । उनी पछिल्ला सात वर्षमा चौथोपटक युरोपको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले २०१९ मा इंग्ल्यान्डका ह्यारी केनलाई पछि पारेका हुन् । रोनाल्डोको तथ्यांक हेरौं–

युभेन्टस (च्याम्पियन्स लिग) – ७ गोल
पोर्चुगल (युरो कप छनौट) – ११ गोल
पोर्चुगल (युइएफए नेसन्स लिग) – ३ गोल

यस वर्ष रोनाल्डोपछि दोस्रो बनेका केनले कूल १९ गोल गरे । उनले टोटनह्यामबाट च्याम्पियन्स लिगमा ७ गोल गरे भने इंग्ल्यान्डबाट युरो कप छनौट १२ गोल गरे । उनी युरो कप छनौटका सर्वाधिक गोलकर्ता हुन् ।

यता, रोनाल्डो वर्ष २०१९ मा मात्रै नभए २०१० को दशककै सर्वाधिक गोलकर्ता खेलाडी पनि बनेका छन् । उनले २०१०–२०१९ को अवधिमा कूल १४५ गोल युरोपियन प्रतियोतिामा गरे, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । सोक्रममा रोनाल्डोले रियल मड्रिड र युभेन्टसबाट च्याम्पियन्स लिगमा १०७ गोल, युइएफए सुपर कपमा २ गोल, युरो कपमा ६ गोल, युइएफए नेसन्स लिगमा ३ गोल र युरो कप छनौटमा २७ गोल गरे ।

यता, दशकको तथ्यांकमा रोनाल्डोपछि पोल्यान्डका रोवर्ट लेवान्डोस्की छन् । उनले सो अवधिमा कूल १०१ गोल गरे । तेस्रो स्थानमा रहेका बार्सिलोनाका लिओनल मेस्सीले ९९ गोल गरे ।

प्रकाशित मिति २३ पुष २०७६, बुधबार २०:१८
Loading...