‘२०२० को बालोन डि‘ओर नेइमार वा एमबाप्पेले जित्न सक्छन्’

एजेन्सी, पुस २३
जारी सिजन सकिन अझै आधा खेल नै बाँकी छैन । त्यसमा २०२० त भर्खरै सुरु भएको छ । २०२० को समग्र मूल्यांकनका लागि यो सिजन सकिएर अर्को सिजनका सुरुआती खेल पनि पर्खिनुपर्छ । तर, ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले भने वर्ष २०२० को बालोन डि‘ओर पिएसजीका खेलाडीले जित्न सक्ने बताएका छन् ।

हालै एक ब्राजिलियन पत्रिकासँग कुरा गर्दै रिभाल्डोले यो सिजन पिएसजी कुनै पनि हालतमा युरोपियन च्याम्पियन्स लिग जित्ने अभियानमा रहेकोले उनीहरू च्याम्पियन बने बालोन डि‘ओर नेइमार वा केलियन एमबाप्पेले जित्न सक्ने बताए । पिएसजीलाई घरेलु लिग जित्न समस्या नरहेको बताउँदै उनले च्याम्पियन्स लिगमा नेइमार र एमबाप्पेको व्यक्तिगत प्रदर्शन र योगदान आधार रहने बताए ।

‘अन्तिम १६ का टिम सबै उपाधि जित्न सक्षम छन् । तर, व्यक्तिगत रूपमा मलाई इंग्लिस, इटालियन र प्रेन्च क्लबले यसपटक उपाधि जित्न सक्छन् भन्ने लाग्छ,’ रिभाल्डोले भने, ‘मेरो चाहना पिएसजीले उपाधि जितोस् र नेइमारले यस वर्ष बालोन डि‘ओर जितुन् भन्ने हो ।’

रिभाल्डोले नेइमार अहिले करिअरको महत्त्वपूर्ण चरणमा रहेको र उनी चोटमुक्त भएकाले अबको वर्ष उनका लागि राम्रो हुन सक्ने बताउँछन् । ‘पछिल्ला दुई सिजन उनका लागि निकै पीडादायी रहे । तर, उनी अब ठीक भएर आएका छन् । र, उनले राम्रो गरिरहेका छन्,’ रिभाल्डोले भने, ‘नेइमार यस वर्ष पिएसजीबाट च्याम्पियन्स लिग जितेर ठूला अवार्ड जित्न चाहन्छन् । अवश्य पनि, ब्राजिलको खेलाडी भएको नाताले म पनि यो चाहन्छु ।’

प्रकाशित मिति २३ पुष २०७६, बुधबार १६:५५
Loading...