काराबाओ कप : युनाइटेडविरुद्ध सिटीले उसकै घरमा निकाल्यो शानदार जित

काठमाडौं, पुस २३
इंग्लिस काराबाओ (इएफएल) कप फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । गत राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा १–३ ले निराश बनायो ।

यससँगै सिटीले युनाइटेडडसँग केही समयअघि प्रिमियर लिग फुटबलमा आफ्नो घरमा भोगेको नमिठो हारको बदलासमेत लिएको छ । युनाइटेडले सिटीलाई उसकै घरमा १–२ ले हराएर उपाधि होडमा ठूलो झट्का दिएको थियो ।

युनाइटेडको घर ओल्ड ट्राफोर्डमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दा घरेलु टोली दबाबमा थियो । सिटीले खेलको १७औं मिनेटमा पोर्चुगिज मिडफिल्डर बर्नान्डो सिल्भाको शानदार गोलबाट अग्रता लिएको थियो । उनले बक्स बाहिरबाट पोस्टको लेफ्ट बार च्याप्दै हानको गोलले शानदार ढंगले जाली चुमेको थियो ।

त्यसपछि खेलको ३३औं मिनेटमा सिटीले अग्रता दोब्बर बनायो । सो गोल रियाद महारेजले गरेका थिए । बर्नान्डो सिल्भाको पासमा उनले युनाइटेडका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गरेका थिए ।

त्यसपछि खेलको ३८औं मिनेटमा सिटीले उपहार गोल पायो । सिटीको केभिन डे ब्रुयानेले हानेको प्रहार युनाइटेडका गोलकिपर डेभिड डि गेयाको हातबाट रिबाउन्ड भएर आएको बल आन्द्रेस पेरेरियाको खुट्टामा लाग्दै सजिलै पोस्टमा छिरेको थियो । सो गोलपछि सिटी पहिलो हाफमा ०–३ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा अबेर गरी युनाइटेडका लागि मार्कुस रासफोर्डले १ गोल गरे । खेलको ७०औं मिनेटमा उनले गोल गरे पनि बाँकी समयमा गोल हुन नसक्दा खेल सिटीले १–३ ले जित्यो । अब दोस्रो लेगेको खेलमा सिटीको घरमा जनवरी २९ तारिखमा हुनेछ ।

प्रकाशित मिति २३ पुष २०७६, बुधबार ०९:१०
Loading...