सुपर कपका मुखमा रियललाई ठूलो झट्का : बेल र बेन्जेम घाइते

काठमाडौं, पुस २२
भोलि (बुधबार)बाट साउदी अरेबियामा यस सिजनको स्पेनिस सुपर कप खेल हुँदैछ । यसै वर्षदेखि यस प्रतियोगितामा चार टिमले भाग लिँदैछन् । जसमा एक सेमिफाइनलमा बार्सिलोना र एथ्लेटिको मड्रिडको भिडन्त हुँदा अर्को खेलमा रियल मड्रिड र भ्यालेन्सिया भिड्नेछन् ।

सिजनको एक महत्त्वपूर्ण उपाधि भिडन्तअघि रियल मड्रिड भने खेलाडीको चोटले थलिएको छ । सो खेल आउन दुई दिन बाँकी छँदा रियलले आफ्ना दुई प्रमुख फरवार्ड करिम बेन्जेमा र ग्यारेथ बेल दुवै घाइते भएको पुष्टि गरेको छ । क्लबले अफिसियल रूपमा विज्ञप्ति जारी गर्दै बेलको खुट्टाको जोर्नी र बेन्जेमाको मांपेशसीमा समस्या रहेको पुष्टि गरेको छ ।

घाइते बेल र बेन्जेमालाई ठीक हुन कति समय लाग्न सक्छ भन्नेबारे रियलले नबताए पनि उनीहरूले सुपर कप गुमाउने निश्चित भएको छ । उनीहरूलाई रिकभर हुन कम्तीमा तीन सातादेखि एक महिनासम्म लाग्न सक्छ ।

यता, अर्का स्टार खेलाडी इडेन हाजार्ड पनि लामो समयदेखि घाइते छन् । उनी हाल रिकभरीको चरणमै रहे पनि पूर्ण रूपमा फिट भइसकेका छैनन् । यी ३ जनै खेलाडी सुपर कप खेल्ने टोलीमा छैनन् । टोलीका तीन अनुभवी खेलाडी नहुँदा रियललाई सुपर कपमा ठूलै समस्या पर्ने सम्भावना छ ।

तर, लामो समयदेखि घाइते रहेका हामेस रोड्रिग्वेज भने फिट हुँदै टोलीमा फर्किएका छन् । उनको कमब्याकले रियललाई थप राहत मिल्नेछ । यता, बेल घाइते हुँदा अब उनको स्थानमा लुकास भासक्वेज विकल्पमा हुनेछन् । त्यस्तै, युवा खेलाडी रोड्रिगो पनि भरपर्दा विकल्प हुनेछन् ।

यता, बेन्जेमाको स्थान अर्का युवा फरवार्ड लुका जोभिकले लिने पक्का छ । गत समरमा रियल आएका उनले विरलै मात्र सुरुआती टोलीमा खेल्न पाएका छन् । बेन्जेमाकै पोजिसनबाट खेल्ने हुँदा प्रशिक्षक जिनेदिन जिदानले उनलाई अक्सर बेन्चमा राखेर बेन्जेमालाई सुरुआती टोलीमा राख्दै आएका थिए ।

तर, अब बेन्जेमा घाइते हुँदा टोलीमा जोभिकले सुरुआती टोलीमा समय पाउनेछन् । बेन्चबाट खेल्दै आए पनि टोलीमा गतिलो प्रभाव जमाउन नसकिरहेका जोभिकका लागि यसपटक बेन्जेमाको चोट फाइदाजनक हुनेछ । किनभने, उनले खेल्ने समय मात्रै पाउनेछैनन्, यही बेला आफूलाई प्रमाणित गरेर प्रशिक्षकको विश्वास जित्ने अवसर पनि छ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १५:४४
Loading...