ह्याट्रिक संख्यामा रोनाल्डो र मेस्सीबीच रोमाञ्चक प्रतिस्पर्धा : यस्तो छ तथ्यांक

काठमाडौं, पुस २१
इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीबीच ह्याट्रिक संख्यामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । विगत ढेड दशकदेखि विश्व फुटबलको केन्द्रमा लगातार रहँदै आएका यी दुई खेलाडीको अन्य पक्षमा जस्तै ह्याट्रिक संख्यामा पनि प्रतिस्पर्धा छ ।

गत राति इटालियन सिरी ए लिगमा रोनाल्डोले युभेन्टस र क्याग्लिअरी भिड्दा समग्रमा दोस्रो तथा घरेलु लिगमा पहिलो ह्याट्रिक गरे । सो ह्याट्रिकले रोनाल्डोका नाममा आधा दर्जन रेकर्ड बनायो । त्यसमध्ये एक रेकर्ड भने उनका खास प्रतिस्पर्धी मेस्सीसँग जोडिएको छ ।

रोनाल्डोको सो ह्याट्रिकपछि समग्र करिअर ह्याट्रिक र लिग ह्याट्रिकमा दुई खेलाडीबीच स्पष्ट प्रतिस्पर्धा देखिएको छ । गत रातिको ह्याट्रिकसँगै रोनाल्डोले आफ्नो कूल ह्याट्रिक संख्या ५६ बनाएका छन् । यता, मेस्सीको नाममा कूल ५३ ह्याट्रिक छ । कूल ह्याट्रिकमा मेस्सी रोनाल्डोभन्दा मात्रै तीन ह्याट्रिकले पछि छन् ।

लिग ह्याट्रिकमा रोनाल्डोलाई मेस्सीको टक्कर कायमै

यता, लिग ह्याट्रिकमा पनि रोनाल्डो मेस्सीभन्दा अगाडि नै छन् । गत राति क्याग्लिअरीविरुद्ध ह्याट्रिकसँगै युरोपियन टप–५ लिगमा रोनाल्डोको ह्याट्रिक संख्या ३६ पुगेको छ । उनले यो प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’मा गरेको कूल ह्याट्रिक हो । यो सन् २००८ को जनवरीदेखि यताको मात्रै तथ्यांक हो ।

सो अवधिको तथ्यांकअनुसार मेस्सीका नाममा कूल ३४ लिग ह्याट्रिक छ । हालको ताजा अवस्थामा मेस्सी लिगमा रोनाल्डोको ह्याट्रिकभन्दा मात्रै दुई ह्याट्रिकले पछि छन् । समग्र लिग ह्याटिकको कुरा गर्दा भने मेस्सीको नाममा ३५ ह्याट्रिक पूरा भएको छ ।

रोनाल्डोको उमेर र खेल संख्याका हिसाबमा उनले जति ह्याट्रिक गरेका छन्, त्यो ठूलो अन्तर होइन । ३५ वर्ष लाग्न लागेका रोनाल्डोले मेस्सीको भन्दा सयौं खेल बढी खेलेर समग्रमा तीन ह्याट्रिक बढी गरेका छन् । हाल ३२ वर्ष पुगेका मेस्सीले यदि रोनाल्डोको भन्दा एक वा दुई वर्ष मात्रै बढी खेले पनि उनले रोनाल्डोको ह्याट्रिक रेकर्ड भंग गर्ने सक्न सक्छन् ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १३:४६
Loading...