ज्लाटनको डेब्यु खेलमा एसी मिलानको निराशाजनक बराबरी

काठमाडौं, पुस २१
निकै महत्त्वसाथ हेरिएको पूर्वस्टार ज्लाटन इब्राहिमोभिचको डेब्यु खेलमा इटालियन क्लब एसी मिलानले निराशाजनक गोलरहित बराबरी खेलेको छ । सबैखाले प्रतियोगितामा पछिल्ला ७ खेलमा लगातार जितविहीन रहेको मिलानले स्टार ज्लाटनको डेब्यु खेलमा पनि जितको स्वाद चाख्न पाएन ।

गत राति आफ्नो घरेलु मैदानमा मिलानले भ्रमणकारी टोली साम्पडोरियासँग ०–० को बराबरीमा चित्त बुझायो । प्रतिस्पर्धात्मक खेलमा मिलानले खेल आफ्नो पक्षमा राखेर खेले पनि गोल गर्न सकेन । खेलभरि कूल १९ प्रहार गर्दा मिलानको कुनै पनि प्रहारले जाली चुम्न पाएन ।

स्वीडेनका भेट्रान फुटबलर ज्लाटन गत राति खेलको ५५औं मिनेटमा पाइकटेको स्थानमा मैदान छिरेका थिए । उनले थप समयसहित कूल ३८ मिनेट मैदानमा बिताए पनि गोल गर्न सकेनन्, न टिमले नै गर्न सक्यो । खेलको प्रमुख आकर्षण बनेका ज्लाटनको डेब्यु अन्ततः निराशाजनक बराबरीमा सकिँदा उनको पुनरागमन पनि निराशाजनक नै रह्यो ।

ज्लाटन यसै जनवरी विन्डोमा फ्री ट्रान्सफरमा अनुबन्ध भएका हुन् । उनी जारी सिजनको अन्त्यसम्मका लागि मात्रै टोलीमा रहनेछन् । ज्लाटनले यसअघि २०१०–२०१२ सम्म मिलानबाट खेलेका थिए ।

यो बराबरीसँगै मिलानले लिगमा समग्रमा लगातार पछिल्ला ७ खेल र लिगमा भने तेस्रो खेलमा जितविहीन बनेको छ । ऊ अब १८ खेलबाट २२ अंकका साथ लिगको १२औं स्थानमा छ । साम्पडोरिया १६ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०९:१४
Loading...