सिरी ए : इन्टर मिलानद्वारा नापोलीको उसकै घरमा धुलाइ

काठमाडौं, पुस २१
इटालियन सिरी ए फुटबलमा यो सिजन उपाधि होडमा खरो उत्रिएको इन्टर मिलानले नापोलीमाथि सहज जित निकालेको छ । गत राति भएको लिगको १८औं खेलमा मिलानले नापोलीलाई उसकै घरेलु मैदानमा १–३ को सहज जित निकालेको हो ।

लिगकै एक ठूलो खेलमा नापोली आफ्नै घरमा नमिठो हारको सिकार हुँदा च्याम्पियन्स लिगको तयारीमा रहेको उसलाई ठूलो झट्का लागेको छ । नापोली अन्तिम १६ मा स्पेनिस बार्सिलोनासँग भिड्दैछ ।

नापोलीको घरमा मिलानलाई जिताउनेक्रममा रोमेलु लुकाकुले २ गोल गरे भने लौटारो मार्टिनेजले १ गोल गरे । पाहुना टोली मिलानका लागि खेलको १४औं मिनेटमा लुकाकुले पहिलो गोल गर्दा ३३औं मिनेटमै उनैले दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ३९औं मिनेटमा घरेलु टोली नापोलीका लागि अर्काड्युज मिलिकले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर, दोस्रो हाफमा पनि घरेलु टोलीले तेस्रो गोल खाएपछि उसको हातबाट खेल फुत्कियो ।

खेलको ६२औं मिनेटमा मार्टिनेजले गोल गर्दै मिलानलाई १–३ को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल मिलानले १–३ ले जित्यो ।

अब यो जितसँगै मिलान पुनः लिगको शीर्ष स्थानमै फर्किएको छ । गत राति युभेन्टसले आफ्नो खेल जितेर शीर्ष स्थानमा चढे पनि मिलानले आफ्ना खेल जितेर शीर्ष स्थान लिएको हो । अहिले मिलान ४५ अंकसहित शीर्ष स्थानमा छ भने युभेन्टस पनि समान ४५ अंकसहित दोस्रो स्थानमा छ । मिलान गोलअन्तरमा मात्रै अगाडि छ । यता, पराजित नापोली २४ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०७:४६
Loading...