वर्षको पहिलो खेलमा ह्याट्रिक गर्दा रोनाल्डोको नाममा ‘रेकर्डको ओइरो’ !

काठमाडौं, पुस २१
नयाँ वर्ष २०२० को पहिलो खेलमै जादु चल्दा इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले रोमाञ्चक ह्याट्रिक मात्रै गरेनन्, १ गोलमा असिस्ट गर्दै सोझै ४ गोलमा सहभागी भए । सोमबार राति लिगको १८औं खेलमा पाहुना टोली क्याग्लिअरीलाई ४–० ले हराउँदा रोनाल्डोले ह्याट्रिक गर्दै १ गोलमा असिस्ट पनि गरे ।

घरेलु मैदान रोनाल्डोले खेलको ४९औं मिनेटमा पहिलो गोल गर्दा ६७औं मिनेटमा मिनेटमा पेनाल्टीमार्फत् दोस्रो गोल गरेका थिए भने ८२औं मिनेटमा अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे । तेस्रो गोलअघि रोनाल्डोले गोन्जालो हिगुइनको गोलमा असिस्टसमेत गरेका थिए । दशक २०२० तथा नयाँ वर्ष २०२० को पहिलो खेलमा ह्याट्रिक गरेसँगै रोनाल्डोका नाममा एकसाथ पाँच रेकर्ड बनेका छन् ।

लगातार १८ वर्षसम्म गोल गर्ने पहिलो खेलाडी

हाल ३४ वर्ष पुगेका रोनाल्डोले युरोपका टप–५ लिगमा सबैभन्दा धेरै १८ वर्षसम्म लगातार गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् । उनले पहिलो गोल सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा गोल गरेर २०२० मा युभेन्टसका गोल गर्दा १८ वर्षसम्म युरोपका टप–५ लिगमा गोल गर्ने खेलाडी बनेका हुन् । र, यस्ता खेलाडी रोनाल्डो एक मात्रै हुन् ।

ह्याट्रिक संख्या ५६

आज क्याग्लिअरीविरुद्ध ह्याट्रिक गरेसँगै रोनाल्डोले क्लब र देशका लागि गरी आफ्नो करिअरको कूल ह्याट्रिक संख्या ५६ पुराएका छन् । र, उनी सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी ह्याट्रिक गर्ने खेलाडी हुन् । उनीपछि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी ५२ ह्याट्रिकसहित दोस्रो स्थानमा छन् ।

तीन लिगमा गोल गर्ने दोस्रो खेलाडी

आजको ह्याट्रिकसँगै रोनाल्डो युरोपका टप–५ लिगमा इंग्ल्यान्ड, स्पेन र इटालीको लिगमा ह्याट्रिक गर्ने २१औं शताब्दीकै दोस्रो खेलाडी बनेका छन् । उनले प्रिमियर लिग, ला लिगामा ह्याट्रिक गरेर नयाँ लिगमा पनि ह्याट्रिक गरेर नयाँ रेकर्ड बनाएका हुन् ।

१० फरक–फरक प्रतियोगितामा ह्याट्रिक गर्ने एक्लो खेलाडी

३४ वर्षका रोनाल्डोका नाममा अर्को पनि शानदार रेकर्ड बनेको छ । उनी अब सबैभन्दा धेरै प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन् । उनले आफ्नो करिअर दौरान १० फरक–फरक प्रतियोगितामा ह्याट्रिक गरेका छन् । उनले ह्याट्रिक गरेका १० प्रतियोगिता – सिरी ए, प्रिमियर लिग, ला लिगा, विश्वकप छनौट, युरो कप छनौट, कोपा डेल रे, क्लब विश्वकप, फिफा विश्वकप, युइफए नेसन्स लिग र युइएफए च्याम्पियन्स लिग ।

सिरी ‘ए’मा ह्याट्रिक गर्ने पहिलो पोर्चुगिज खेलाडी

युभेन्टसका लागि घरेलु लिगमा ह्याट्रिक गरेसँगै रोनाल्डो अब इटालियन लिगमा ह्याट्रिक गर्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका कुनै पनि खेलाडीले सिरी ए मा ह्याट्रिक गरेका थिएनन् ।

प्रकाशित मिति २१ पुष २०७६, सोमबार २२:४४
Loading...