२०२० को पहिलो खेलमा रोनाल्डोको ह्याट्रिक : युभेन्टसको शानदार जित

काठमाडौं, पुस २१
नयाँ वर्ष २०२० को पहिलो खेलमै सुपरस्टार क्रिस्टियानो रोनाल्डो शानदार प्रदर्शनका साथ ह्याट्रिकसहित ४ गोलमा सोझै सहभागी हुँदा युभेन्टसले सिरी ए लिग फुटबलमा क्याग्लिअरीविरुद्ध ४–० को शानदार जित निकालेको छ । सोमबार घरेलु मैदानमा भएको लिगको १८औं खेलमा युभेन्टसलाई शानदार जित दिलाउनेक्रममा ३४ वर्षीय रोनाल्डोले ह्याट्रिक गर्दै १ गोलमा असिस्टसमेत गरे ।

घरमा सुरुआतमा फितलो देखिएको युभेन्टसले गोल गर्न नसक्दा पहिलो हाफ ०–० मा सकियो । भ्रमणकारी टोली क्याग्लिअरीविरुद्ध पहिलो हाफमा युभेन्टस दबाबमा देखिएको थियो ।

तर, दोस्रो हाफमा घरेलु टोलीले शानदार प्रदर्शन गर्दै गोलको वर्षा नै गरिदियो । युभेन्टसका लागि खेलको ४९औं मिनेटमा रोनाल्डोले पहिलो गोल गर्दै खाता खोलेका थिए । रोनाल्डोले क्याग्लिअरीका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै सुन्दर फिनिसिङमा गोल गरे ।

त्यसपछि ६७औं मिनेटमा मिनेटमा युभेन्टसले पेनाल्टी पायो । पाउलो डिबालालाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती नगरी टिमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८१औं मिनेटमा सब्सिच्युट खेलाडी गोन्जालो हिगुइनले गोल गरे । सो गोलमा रोनाल्डोले नै असिस्ट गरेका थिए ।

तेस्रो गोल गरेको अर्को मिनेटमै युभेन्टसका लागि रोनाल्डोले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । र, खेल युभेन्टसले क्लिन सिट राख्दै ४–० ले जित्यो ।

अब यो जितसँगै ४५ अंकसहित युभेन्टस लिगको शीर्ष स्थानमा पनि चढेको छ । आजै राति इन्टर मिलान र नापोलीको खेलअघि नहुँदासम्म युभेन्टस शीर्ष स्थानमा हुनेछ । यदि मिलान नापोलीसँग हारे वा बराबरीमा रोकिए युभेन्टसको शीर्ष स्थान कायमै रहनेछ भने मिलान विजयी भए युभेन्टस दोस्रोमै झर्नेछ । समान अंक भए पनि नापोली गोलअन्तरमा शीर्ष स्थानमा हुनेछ ।

आजको ३ गोलसँगै रोनाल्डोले सिरी ए लिगमा पहिलो ह्याट्रिक पनि दर्ता गराएका छन् । उनले युभेन्टस आइकन घरेलु लिगमा पहिलो र समग्रमा दोस्रो ह्याट्रिक गरेका हुन् । जारी सिजन रोनाल्डोले १५ खेलबाट १३ गोल गर्दै २ गोल असिस्ट गरेका छन् ।

प्रकाशित मिति २१ पुष २०७६, सोमबार २१:४०
Loading...