भावुक हुँदै ११ वर्षपछि फर्किए ग्वार्डिओला : यसरी सम्झिाए बार्सिलोनालाई

एजेन्सी, पुस २०
हाल इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रमुख प्रशिक्षक रहेका प्रशिक्षक पेप ग्वार्डिओलाले पूर्वक्लब बार्सिलोनामा छँदाका दिन र सफलताको भावुक हुँदै स्मरण गरेका छन् । बार्सिलोनामा छँदा अपत्यारिला सफलता बटुलेर प्रसिद्धी कमाएका ग्वार्डिओला बार्सिलोना छाडेपछि ठूला उपाधि जित्न संघर्षरत छन् ।

तर, लगातार उनी असफल हुँदै आएका छन् । बार्सिलोनामा उनका वर्ष जसरी बिते, जस्ता सफलता बटुले, त्यस्ता दिन उनको प्रशिक्षण करिअरमा दोहोरिन सकेका छैनन् । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई प्रशिक्षण दिएका उनले सो बीचमा एकै सिजनमा बार्सिलोनालाई ट्रिबेल उपाधि मात्रै जिताएनन्, एकै सिजनमा ६ उपाधि जिताउने प्रशिक्षकको रेकर्ड पनि बनाए ।

उनले चार वर्ष बार्सिलोनामा रहँदा तीन ला लिगासहित दुई युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताए । सन् २००९ मा बार्सिलोनाले एकै वर्ष ६ प्रतियोगिताको उपाधि जितेको थियो, जुन फुटबलको इतिहासमै एक मात्रै दुर्लभ रेकर्ड हो । बार्सिलोनालाई यस्तो सफलता दिलाएका पेपले सन् २०१२ मा बार्सिलोना छाडे ।

त्यसपछि पेप जर्मन क्लब बार्यन म्युनिखको प्रशिक्षक बने । २०१३ देखि २०१६ सम्म त्यहाँ रहदा उनले प्रशस्तै उपाधि जिताए पनि च्याम्पियन्स लिग भने जिताउन सकेनन् । बार्यन छाडेपछि पेप सिटीमा पुगेका हुन् । सिटीमा उनले शानदार समय बिताइरहे पनि टिमलाई च्याम्पियन्स लिग जिताउन भने सकेका छैनन् । अर्थात्, बार्सिलोना छाडेपछि पेपले प्रशिक्षकका हैसियतमा हालसम्म च्याम्पियन्स लिग जित्न सकेका छैनन्, जति जितेका छन् लिग र साना उपाधि मात्रै छन् ।

हालै एक अन्तर्वार्तामा कुरा गर्दै पेपले आफूले बार्सिलोनामा छँदाका जस्ता सफलता फेरि कहिल्यै पाउन नसकेको मात्रै बताएनन्, आफू हरेक वर्ष फेल हुँदै आएको पनि बताएका छन् । उनले सन् २००९ मा बार्सिलोनामा एकै सिजनमा ६ उपाधि जितेको वर्ष सम्झिँदै करिअरमा पुनः त्यस्ता दिन आउन नसक्ने बताए । प्रिमियर लिगको साबिक विजेता सिटी यो सिजन लिभरपुलसँग धेरै पछि परिसकेको छ । उसका लागि उपाधि होड करिब–करिब सकिएको छ ।

च्याम्पियन्स लिगमा पनि ऊ अन्तिम १६ मा १३औं पटकको च्याम्पियन रियल मड्रिडसँग परेको छ । च्याम्पियन्स लिगमा सिटीको यात्रा अन्तिम १६ सम्म मात्रै हुन सक्ने धेरैको अनुमान छ । किनभने, सिटीले घरेलु प्रतियोगितामा राम्रो गरे पनि युरोपियन प्रतियोगितामा भने पेपकै पालामा पनि कमजोर साबित हुँदै आएको छ ।

जारी सिजन सिटीमा प्रशिक्षकका रूपमा झन् कठिन सिजन बन्दै गएपछि पेपले बार्सिलोना सम्झिन बाध्य भए । ‘बार्सिलोनामा पहिलो सिजनमै ६ उपाधि जितेर हिँडेपछि म हरेक वर्ष फेल हुँदै आएको छु,’ पेपले भनेका छन्, ‘त्यो सफल सिजन फेरि दोहोरिन सकेको छैन ।’

पेपले तैपनि आफूलाई कुनै गुनासो नरहेको बताए । ‘तर, जे छ मलाई त्यो स्वीकार छ । मलाई कुनै गुनासो र समस्या छैन,’ उनले भने ।

पेपले आफ्नो करिअरमा पुनः बार्सिलोनामा छँदाको जस्तो समय दोहोरिन नसक्ने बताए । ‘म पटक–पटक यो होस् भन्ने चाहन्छु । तर, फेरि यस्तो समय सायदै आउला । म ११ वर्ष पहिलाका दिन बेला–बेला ज्यादै याद गर्छु । किनभने, ती मेरो र मेरो टिमका लागि सुनौला वर्ष थिए ।’

यदि यो सिजन सिटीले प्रिमियर लिग र च्याम्पियन्स लिग जित्न नसके पेप अर्को सिजन पूर्वक्लब बार्सिलोना फर्किन सक्ने चर्चा सुरु भएको छ । पेप अझै पनि लिओनल मेस्सीसँग काम गर्न चाहन्छन् । यो कुरा उनले पटक–पटक भन्दै पनि आएका छन् । तर, उनका लागि मेस्सीसँगको सहकार्य अब अबेर हुन सक्छ ।

प्रकाशित मिति २० पुष २०७६, आईतवार १९:४२
Loading...