रियल मड्रिडको नजर लिभरपुलका फर्मिन्होमाथि

एजेन्सी, पुस २०
स्पेनिस क्लब रियल मड्रिडले आगामी समर सिजनमा इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्ड रोवर्ट फर्मिन्हो भित्र्याउन चाहेको रिपोर्ट सार्वजनिक भएके छ । रियल निकट पत्रिका ‘मार्सा’का अनुसार रियलले आफ्ना फ्रेन्च स्टार करिम बेन्जेमाको दीर्घकालीन विकल्पका रूपमा ब्राजिलका स्टारलाई योजनामा राखेको छ ।

२८ वर्षका फर्मिन्हो अहिले जोर्गेन क्लोपको टोलीमा प्रमुख हिस्सा छन् । तर, रियल भने गत सिजन च्याम्यिन्स लिग विजेता खेलाडीलाई अर्को समरमा सान्टियागो बेर्नाबेउ उतार्न इच्छुक छ ।

लामो समयदेखि रियलको टोलीमा रहेका बेन्जेमाको रियलसँग सम्झौता सकिन अब १९ महिना बाँकी छ । सो सम्झौता सकिएपछि रियलले उनीसँग थप सम्झौता नगरी नयाँ खेलाडी भित्र्याउन चाहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदाान बेन्जेमाको स्थान रियलमा फर्मिन्होले लिन सक्नेमा विश्वस्त रहेको बताइन्छ ।

यता, रियलमा हाल बेन्जेमाकै पोजिसनबाट खेल्ने युवा फरवार्ड लुका जोभिक पनि छन् । तर, सर्बियन युवा फरवार्ड जिदानको पहिलो रोजाइमा पर्न सकेका छैननन् । गत समर सिजनमा जर्मन क्लबबाट रियल पुगेका जोभिक अधिकांश खेलमा बेन्चबाट मात्रै खेलेका छन् । उनले आधा सिजन सकिँदासम्म रियलका लागि जम्मा १ गोल मात्रै गरेका छन् ।

प्रकाशित मिति २० पुष २०७६, आईतवार १५:२२
Loading...