‘रियल मड्रिडले रोनाल्डोसँगै टिमको आत्मबल र प्राविधिक नेता पनि बेच्यो’

एजेन्सी, पुस २०
स्पेनिस क्लब रियल मड्रिडका पूर्वप्रशिक्षक फावियो कापेलोले क्लबका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोबारे धारणा राखेका छन् । हालै एक अन्तर्वातार्मा बोल्दै कापेलोले रियलले १०० मिलियन पाउन्डमा रोनाल्डो मात्रै नबेचेर टिमको आत्मबल र एक प्राविधिक नेता पनि बेचेको बताए ।

फावियोले रोनाल्डोले रियलमा कम्तीमा ३५ वर्षको उमेरसम्म एकै स्तरमा खेल्न सक्ने भए पनि क्लबले उनको अपमानजनक अवस्थाबाट बिदा गरेको बताए । ‘उनी सिरी ए जस्तो कठिन लिगमा अहिले जसरी खेलिरहेका छन्, उनी उनी रियलमै थिए भने त्योभन्दा राम्रो स्तरमा खेलिरहेका हुन्थे । किनभने, यो उनको बानी परेको टिम र लिग थियो,’ फावियोले भने, ‘नयाँ लिगमा गएर खेल्न रोनाल्डो मात्रै नभएर जस्तै महान् खेलाडीलाई पनि कठिन हुन्छ ।’

फावियोले रोनाल्डोसँगै रियलले थुप्रै कुरा बेचेको बताए । ‘रियलले १०० मिलियनमा ३३ वर्षका रोनाल्डो मात्रै बेचेन, टिमको आत्मबल र एक प्राविधिक नेता खेलाडी पनि बेच्यो । एक सिजनको ५० गोल पनि बेच्यो,’ फावियोले भने, ‘रियल आज उनै रोनाल्डोको खाँचो टार्न ५०० मिलियन युरो खर्चिन तयार छ । अब तपाईं भन्नुहोस्, रोनाल्डो को थिए ?’

फावियोले रोनाल्डो इटाली जाँदा उनीसँगै रियललाई ठूलो घाटा भएको बताए । ‘यदि रोनाल्डो रियलमै थिए भने गत सिजन रियलले १४औं च्याम्पियन्स लिग जित्न सक्थ्यो, रोनाल्डोले छैटौं बालोन डि‘ओर जित्थे,’ फावियोले भने, ‘यो सरुवाले रोनाल्डो र रियल दुवैलाई ठूलो घाटा भयो ।’

फावियोेले रोनाल्डोको अनुबन्धपछि युभेन्टसले क्लबको इतिहासमै सबभन्दा बढी व्यापार गरेको बताए । ‘रोनाल्डोका कारण उनीहरूले कति उपाधि र ठूला प्रतियोगिता जित्छन्, त्यो हेर्न बाँकी छ । तर, युभेन्टसले रोनाल्डोकै कारण ऐतिहासिक नाफा कमायो । अझै कमाउनेछ । रोनाल्डो यस्ता खेलाडी हुन् ।’

प्रकाशित मिति २० पुष २०७६, आईतवार १३:३९
Loading...