इस्पान्योलसँग बराबरीपछि भाल्भर्डेले भने– ‘यसरी उपाधि जितिँदैन’

एजेन्सी, पुस २०
वर्ष २०२० को पहिलो खेलमा बार्सिलोनाले अवे मैदानमा इस्पान्योलसँग २–२ को बराबरी खेल्यो । पहिलो हाफमा १–० ले पछि परेको भ्रमणकारी टोली बार्सिलोनाले दोस्रो हाफमा १–२ को अग्रता लिएर जित नजिक पुगेका बेला खेलको ८८औं मिनेटमा गोल खाएपछि स्पष्ट जितबाट चुक्यो ।

सो बराबरीपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले निराशाजनक प्रतिक्रिया दिएका छन् । खेलपछि मिडियासँग कुरा गर्दै उनले क्याटलान डर्बी आफूहरूले सजिलैसित जित्नुपर्ने खेल भए पनि अंक गुमाउनु चिन्ताजनक रहेको बताए ।

‘यो खेलमा सहज जितको अपेक्षा थियो । तर, हामीले बराबरी गर्न पनि संघर्ष गर्नुपर्दा म खुसी छैन,’ भाल्भर्डेले खेलपछि प्रतिक्रिया दिँदै भने, ‘हामीले बल धेरै राख्यौं, गोलका लागि निरन्तर प्रयास गर्न सकेनौं । घरेलु टोलीसँग पहिला गोल खानु हाम्रो कमजोरी थियो । जब पहिला गोल खाइन्छ, खेलमा फर्किन सधैं कठिन हुन्छ ।’

भाल्भर्डेले ८८औं मिनेटमा खाएको गोल गल्तीले खाएको बताए । ‘हामी जितबाट केही सेकेन्ड मात्रै टाढा थियौं । जब तपाईं विपक्षीलाई बक्समा ठाउँ दिनुहुन्छ, तपाईंले त्यसको मूल्य चुकाउनुपर्छ,’ उनले भने ।

लिगको २०औं स्थानको टिमसँग बराबरीमा रोकिएपछि जारी सिजनका उपाधिबारे सोधिएको प्रश्नमा भाल्भर्डेले चिन्ताजनक भनाइ राखे । उनले हालकै अवस्थामा टिम कुनै पनि उपाधिको दाबेदार बन्न नसक्ने बताए । ‘हामी उति खराब अवस्थामा छैनौं । तर, राम्रो अवस्थामा पनि छैनौं । पछिल्ला केही खेललाई छाड्ने हो भने समग्रमा हामीले जस्तो नतिजा पाइरहेका छौं, त्यो स्तरको खेलबाट हामी कुनै पनि उपाधिको प्रतिस्पर्धी बन्न सक्दैनौं,’ भाल्भर्डेले भने, ‘तर, फुटबल निरन्तर सिक्ने र सुधार गर्ने कुरा हो । हामी कठिनाइबाट आगामी दिनमा सहज बाटो खोज्नेछौं ।’

गत राति खेलको ७५औं मिनेटमा दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएका मिडफिल्डरको फ्रेन्की डे जोङको अवस्थाले पीडा दिएको बताए । ‘डे जोङले रातो कार्ड पाउनु टिमका लागि दुखद् थियो । मलाई लागछ, पहिलो फउल कार्डका लागि योग्न थिएन,’ भाल्भर्डेले भने ।

डे जोङले रातो कार्ड पाएपछि बार्सिलोना समस्यमा परेको पनि भाल्भर्डेले बताए । ‘डे जोङको रातो कार्डसँगै बार्सिलोनामाथि समस्या बढ्यो, खेल उनीहरूतिर ढल्कियो,’ भाल्भर्डेले भने ।

गत रातिको बराबरीपछि बार्सिलोना १९ खेलछि ४० अंकसहित लिगको शीर्ष स्थानमा छ । तर, उसको अंक दोस्रो स्थानको रियल मड्रिडसँग बार्सिलोना गोलअन्तरमा मात्रै अगाडि छ ।

प्रकाशित मिति २० पुष २०७६, आईतवार १३:३७
Loading...