बार्सिलोनाविरुद्ध गोल गरेका लेईको नाममा रेकर्ड !

काठमाडौं, पुस २०
स्पेनिस ला लिगा फुटबलमा गत राति लिगको २०औं स्थानको इस्पान्योल र लिग लिडर बार्सिलोनाले २–२ को बराबरी खेले । अवे मैदानमा बार्सिलोना पहिलो हाफमा पछि परे पनि दोस्रो हाफमा कमब्याक गर्दै १–२ को जित नजिक पुगेको थियो ।

तर, खेलको अन्तिम ८८औं मिनेटमा घरेलु टोली इस्यापन्योलले बराबरी गोल गर्दै बार्सिलोनालाई जितबाट रोक्यो । बार्सिलोनालाई जित नजिक पुगेका बेला गोल गरेर रोक्ने इस्पान्योलका खेलाडी ऊ लेईको नाममा भने रेकर्ड नै बनेको छ ।

लेई अब बार्सिलोनाविरुद्ध गोल गर्ने पहिलो चिनियाँ खेलाडी बनेका छन् । यसअघि कुनै पनि चिनियाँ खेलाडीले बार्सिलोनाविरुद्ध गोल गरेका थिएनन् ।

गत रातिको खेलमा लेई खेलको ७४औं मिनेटमा ओस्कार मेलेन्डोको स्थानमा मैदान छिरेका थिए । उनले मैदान छिरेको १४औं मिनेटमा निकै शानदार गोल गरेर टिमलाई हारबाट जोगाएका थिए ।

लेई यसै सिजनकोे सुरुमा इस्पान्योलमा अनुबन्ध भएका हुन् । २८ वर्षीय उनी चिनियाँ क्लब साङ्घायीबाट इस्पान्योल सरेका हुन् । उनले हालसम्म क्लबका लागि २७ खेलबाट ४ गोल गरेका छन् ।

प्रकाशित मिति २० पुष २०७६, आईतवार १२:१३
Loading...