वर्ष २०२० मा मेस्सीले बनाउन सक्छन् यी पाँच रेकर्डहरू

काठमाडौं, पुस १९
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीका लागि वर्ष २०१९ मा व्यक्तिगत हिसाबले हेर्दा सफल वर्ष रह्यो । तर, टिमका हिसाबले बार्सिलोना र अर्जेन्टिना दुवै टोलीका लागि ज्यादै सामान्य मात्रै रह्यो । कारण, दुवै टिमले ठूला उपाधि जित्न सकेनन् । बार्सिलोनाले ला लिगा जित्यो भने अर्जेन्टिनाको हातमा ब्राजिलमा भएको कोपा अमेरिकाको तेस्रो टिमको मेडल र ब्राजिलसँग भएको एक मैत्रीपूर्ण खेलको ‘सुपर क्लासिको’को मैत्रीपूर्ण उपाधि, जुन उपाधिमा गणना हुँदैन ।

यसका बाबजुद पनि मेस्सीले २०१९ मा कीर्तिमानी छैटौंपटक बालोन डि‘ओर मात्रै जितेनन्, बेस्ट फिफा अवार्डमा पनि बाजी मारे । छैटौं गोल्डेन बुट पनि उनैको पोल्टामा गयो । वर्ष २०१९ मा उनका नाममा थुप्रै शानदार रेकर्ड बने । केही रेकर्ड दुर्लभ छन्, केही निकट भविष्यमै तोडिनेवाला छन् ।
०००

हाल ३२ वर्ष पुगेका मेस्सीका लागि वर्ष २०२० पनि उत्तिकै सफल र शानदार हुने सम्भावना छ । यो वर्ष मेस्सीले क्लब र अर्जेन्टिना दुवै टोलीबाट ठूला सफलता पाउन सक्छन्, नपाउन पनि सक्छन् । टिमका हिसाबले ठूला उपाधि जित्नु–नजित्नु एउटा कुरा । तर, मेस्सीका लागि व्यक्तिगत रूपमा भने यो खास वर्ष हुन सक्छ । यस वर्ष उनले पाउन सक्ने सफलता र तोड्न सक्ने रेकर्डबारे यहाँ चर्चा गरिएको छ ।

लिजेन्ड पेलेको दुर्लभ रेकर्ड भंग

यस वर्ष मेसीले ब्राजिलका लिजेन्ड खेलाडी पेलेको फुटबल इतिहासकै दुर्लभ रेकर्ड भंग गर्ने निश्चिप्रायः छ । हाल ७९ वर्ष पुगेका पेलेले आफ्नो क्लब करिअर दौरान घरेलु क्लब सान्तोषका लागि कूल ६४३ गोल गरेका थिए, जुन एकै क्लबका लागि कुनै पनि खेलाडीले गरेको इतिहासकै सर्वाधिक गोल हो । उनले ६५६ खेलबाट ६४३ गोल गरेका थिए ।

तर, बार्सिलोनाका मेस्सी अब पेलेको सो दुर्लभ रेकर्डबाट धेरै टाढा छैनन् । उनले जारी सिजनभित्रै सो रेकर्ड भंग गर्दैछन् । १६ वर्षदेखि लगातार बार्सिलोनामा खेलिरहेका मेस्सीले हालसम्म क्लबका लागि सबैखाले प्रतियोगिताबाट कूल ६१८ गोल गरेका छन् । उनले ७०५ खेलबाट ६१८ गोल गरेका हुन् । मेस्सी अब पेलेको एक क्लबका लागि सर्वाधिक गोलको रेकर्ड भंग गर्नबाट मात्रै २६ गोलले टाढा छन् ।

सर्वाधिक क्यापको रेकर्ड

हालसम्म बार्सिलोनाका लागि सर्वाधिक क्याप पूरा गर्ने रेकर्ड पूर्वकप्तान जाभीको नाममा छ । उनले आफ्नो करिअर दौरान बार्सिलोनाका लागि कूल ७६७ खेल खेले खेलेका छन् । यता, सन् २००४ बाट बार्सिलोनामा खेलिरहेका मेस्सीले हालसमम क्लबका लागि ७०५ खेल खेलेका छन् । मेस्सी अब जाभीको सो रेकर्डबाट ६२ खेलले टाढा छन् । लामो समय चोटमा नपरे र नियमित खेल्न सके मेस्सीले २०२० भित्रमै जाभीको सो रेकर्ड तोड्दै क्याटलान क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्नेछन् । २०२० नभए २०२१ मा पक्का ।

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै सिजन गोल

वर्ष २०२० मा मेस्सीले युरोपियन प्रतियोगितामै नयाँ रेकर्ड बनाउने अवसर छ । त्यो हो– च्याम्पियन्स लिगमा सबैभन्दा धेरै सिजन गोल गर्ने खेलाडी । हालसम्म यो रेकर्ड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी रायन गिग्सका नाममा छ । उनले च्याम्पियन्स लिगमा लगातार १६ सिजनसम्म गोल गरेर रेकर्ड बनाएका छन् ।

तर, वर्ष २०२० मा मेस्सीले सो रेकर्ड आफ्नो नाममा बनाउन सक्छन् । यो रेकर्ड इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पनि बनाउन सक्छन् । उनले पनि च्याम्पियन्स लिगमा लगातार १५ सिजनदेखि गोल गरेका छन् । जारी सिजन रोनाल्डो र मेस्सी दुवैले यस प्रतियोगितामा गोल गरिसकेका छन् । तर, २०२० मै सुरु हुने सिजन २०२०–२१ मा यी दुवै खेलाडीलाई गोल गरेर गिग्सको सो रेकर्ड भंग गर्ने मौका छ ।

सर्वाधिक उपाधिमा रेकर्ड

हालसम्म फुटबल इतिहासमा टिमबाट सर्वाधिक उपाधि जित्ने खेलाडीको रेकर्ड ब्राजिलका डिफेन्डर ड्यानी आल्भेसका नाममा छ । उनले देश र क्लबबाट गरी कूल ४० उपाधि जितिसकेका छन्, जुन कुनै पनि खेलाडीको भन्दा बढी हो ।

तर, वर्ष २०२० मा मेस्सीले सो रेकर्ड भेट्न वा भंग गर्न सक्छन् । तर, त्यसका लागि बार्सिलोनाले वर्ष २०२० भित्र कम्तीमा ६ उपाधि जित्नुपर्छ । मेस्सीले हालसम्म बार्सिलोनाबाट ३४ उपाधि जितसिकेका छन् । उनी अब आल्भेसको रेकर्डबाट ६ उपाधिले टाढा छन् । बार्सिलोनाकै पूर्वखेलाडी म्याक्सवेलले मेस्सीको भन्दा बढी ३७ उपाधि जितेका छन् ।

सातौं बालोन डि‘ओर र सातौं गोल्डेन बुट

वर्ष २०१९ मा मेस्सीले छैटौं बालोन डि‘ओर र छैटौं गोल्डेन बुट दुवै जिते । फुटबल इतिहासमा ६ वटा बालोन डि‘ओर र ६ वटा गोल्डेन बुट जित्ने मेस्सी एक्लो खेलाडी हुन् । तर, २०२० मा मेस्सीले यो संख्या बढाउन सक्ने सम्भावना छँदैछ ।

अर्थात्, यस वर्ष मेस्सीले सातौं बालोन डि‘ओर र सातौं गोल्डेन बुट दुवै जित्न सक्छन् । तर, त्यसका लागि मेस्सीले यो सिजनको बाँकी खेलमा उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । उनलाई गोल संख्या पनि उत्तिकै चाहिन्छ । गोल्डेन बुटमा गोल संख्याले पुग्ने भए पनि बालोन डि‘ओर जित्न उनलाई बार्सिलोनाबाट च्याम्पियन्स लिगसहित अर्जेन्टिनाबाट पनि उपाधि आवश्यक हुन्छ ।

किनभने, यस वर्ष ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता पनि छन् । २०१९ मा मेस्सीले बढी गोल संख्याका आधारमा ठूला अवार्ड जितेजस्तै २०२० मा पनि व्यक्तिगत ठूला अवार्ड जिताउन टिम उपाधिबिनाका गोल संख्या मात्रै काम नलाग्न सक्छ ।

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १९:४७
Loading...