महत्त्वपूर्ण खेलका मुखमा टर स्टेगेन घाइते : सुपर कप पनि गुमाउने

एजेन्सी, पुस १९
स्पेनिस बार्सिलोनाका पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन घाइते भएका छन् । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले जर्मन गोलरक्षकलाई प्रशिक्षणक्रममा घुँडाको समस्या भएको पुष्टि गरेका छन् ।

आज शनिबार वर्ष २०२० को पहिलो खेल अवे मैदानमा इस्पान्योलविरुद्ध खेल्ने टोलीमा टर स्टेगेन छैनन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भाल्भर्डेले उनले केही खेल गुमाउने पुष्टि गरे । ‘टर स्टेगेन चोटका कारण टोलीमा छैनन् । क्याटलान डर्बीमा उनी हुने हुनेछैनन्,’ खेलअघि पत्रकार सम्मेलनमा भाल्भर्डेले भने, ‘उनले सुपर कपसहित केही खेल गुमाउनेछन् ।’

प्रशिक्षक भाल्भर्डेका अनुसार टर स्टेगेनले इस्पान्योलसँगको खेल मात्रै गुमाउनेछैनन्, यो सिजनको स्पेनिस सुपर कपका खेल पनि उनले गुमाउने पक्का छ । सुपर कप जनवरी ८ तारिखदेखि साउदी अरेबियामा हुँदैछ । सो प्रतियोगितामा बार्सिलोनाको प्रतिस्पर्धी एथ्लेटिको मड्रिड छ भने रियल मड्रिडको भ्यालेन्सिया छ ।

यदि सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिकोलाई हराए उपाधिका लागि फाइनल खेलमा अर्को खेलको विजेतासँग भिड्नेछ । फाइनल खेल जनवरी १२ मा हुँदैछ ।

टर स्टेगेन घाइते भएपछि दोसो रोजाइका गोलकिपर नेटोले टोलीमा मौका पाएका छन् । उनले टर स्टेगेन फिट भएर टोलीमा नफर्किंदासम्म बार्सिलोनाको गोल पोस्ट सम्हाल्नेछन् ।

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १३:३४
Loading...