आज क्याटलान डर्बी : बार्सिलोना २०औं स्थानको इस्पान्योलसँग भिड्दै

काठमाडौं, पुस १९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये बार्सिलोना र इस्पान्योलबीच हुने क्याटलान डर्बीलाई महत्त्वसाथ हेरिएको छ । क्याटलोनियाका दुई टोली भिड्ने भएकाले यस खेललाई क्याटलान डर्बी भन्ने गरिन्छ ।

हाल लिगको २०औं स्थानमा रहेको इस्पान्योलले लिग लिडर बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दा दुवै टिम वर्ष २०२० को पहिलो खेलमा जित निकाल्ने दाउमा हुनेछन् । दुवै टिमका लागि यो नयाँ वर्षको पहिलो खेल हो । र, आज उनीहरू दुवै स्पष्ट जितको खोजीमा छन् ।

यो सिजन खराब अवस्थामा रहेको घरेलु टोली इस्पान्योल आज लिग लिडर बार्सिलोनालाई आफ्नो घरमा वर्षको पहिलो खेलमै हार चखाएर ३ अंक बटुल्ने दाउमा छ । घरेलु समर्थकमाझ उत्रिँदा इस्पान्योलले बार्सिलोनालाई कडा चुनौती दिने पक्का छ । यसअघि यी दुई टोलीबीच भएको अन्तिम खेलमा बार्सिलोनाले क्याम्प नोउमा इस्पान्योललाई २–० ले हराएको थियो ।

यता, बार्सिलोना भने आज आफ्ना पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनबिनै मैदान उत्रिँदैछ । जर्मन गोलरक्षक घाइते भएकाले यस खेलमा हुनेछैनन् । त्यस्तै, मिडफिल्डर अर्थुर र विंगर उसामान डेम्बेले पनि चोटका कारण यस खेलमा हुनेछैनन् ।

हाल लिगमा ३९ अंकसहित शीर्ष स्थानमा रहेको बार्सिलोनाका लागि यो खेल महत्त्वपूर्ण छ । लिगमा शीर्ष स्थान कायमै राख्न पनि उसका लागि यो खेलको ३ अंक जरुरी छ । आजै बार्सिलोनाभन्दा अघि रियल मड्रिडले आफ्नो खेल खेल्नेछ । र, सो खेलमा विजयी भए रियल लिगको शीर्ष स्थानमा उक्लिनेछ ।

रियलको खेलपछि बार्सिलोनाले आफ्नो खेलमा ३ अंक जोडेर पुनः शीर्ष स्थान ओगट्ने अवसर हुनेछ । यदि आज रियलले जितेर बार्सिलोना हारे वा बराबरीमा रोकिए उसको शीर्ष स्थान खोसिनेछ ।

खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । ला लिगाका सबै खेल ला लिगाको अफिसियल फेसबुक पेजबाट लाइभ हेर्न सकिनेछ ।

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १०:०८
Loading...