उपहार गोलले सेभिल्ला घरमा हारबाट बच्यो

काठमाडौं, पुस १९
स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला वर्ष २०२० पहिलो खेलमा बराबरीमा रोकिएको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा सेभिल्ला पाहुना टोली एथ्लेटिको बिल्बाओसाँग १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो ।

घरेलु मैदानमा सेभिल्लालाई हारबाट बच्न उपहार गोलको सहारा लिनु परेको थियो । खेलको १५औं मिनेटमा एन्डर कापाले गोल गरेर पाहुना टोली बिल्बाओलाई अग्रता दिलाका थिए । सोही गोलको अग्रता बिल्बाओले खेलको ५९औं मिनेटसम्म जोगायो ।

तर, खेलको ६०औं मिनेटमा सेभिल्लाले उपहार गोल पायो । बिल्बाओका डिफेन्डर युनाई नुन्जेले बक्समा सेभिल्लाका खेलाडीको प्रहार क्लियर गर्न खोज्दा बलले पोस्टको दिशा लिएपछि खेल १–१ मा आयो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन । र, खेल बराबरीमा सकियो ।

अब यो बराबरीसँगै सेभिल्लाले १९ खेलबाट ३५ अंक बनाएको छ । यदि सेभिल्लाले यो खेल जितेको भए उसले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गर्ने थियो । तर, उसले सो मौका सदुपयोग गर्न सकेन । सेभिल्ला अब ३५ अंकसहित तेस्रो स्थानमा यथावत छ । बिल्बाओ २९ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति १९ पुष २०७६, शनिबार ०८:३३
Loading...