इटाली पुगेपछि रोनाल्डोबारे यसरी फेरियो ज्लाटनको बोली

एजेन्सी, पुस १८
केही समयअघि स्वीडेनका फुटबलर ज्लाटन इब्राहिमोभिचले एक अन्तर्वार्तामा बोल्दै भनेका थिए– ‘इटालीमा यदि कुनै रोनाल्डो छन् भने उनी ब्राजिलका हुन्, रोनाल्डो नाजारियो ।’

उनै ज्लाटन हालै मात्र आफ्नो पूर्वक्लब एसी मिलानमा अनुबन्ध भएका छन् । ३८ वर्षका भेट्रान खेलाडी ६ महिनाका लागि मिलानमा अनुबन्ध भएका हुन् । यसअघि उनी अमेरिकन क्लबमा थिए । तर, सो क्लब छाडेपछि उनी पुनः युरोपियन लिगमा फर्किएका हुन् ।

ज्लाटनले यसअघि युरोपका विभिन्न ठूला क्लबबाट खेलिसकेका छन् । उनले स्पेनको बार्सिलोना, इटालीकै एसी मिलान, इन्टर मिलान, फ्रान्सको पिएसजीबाट खेलिसकेका छन् । र, उनी करिअरको अन्तिम इनिङ बिताउन मिलान फर्किएका छन् । मिलान उनको पूर्वक्लब हो ।

ज्लाटन रोनाल्डोका प्रतिस्पर्धी मात्रै हैनन्, कडा आलोचक पनि हुन् । क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा सधैं रोनाल्डोकै कारण ठूलो हार भोग्दै र पीडामा डुब्दै आएका ज्लाटन रोनाल्डोको सधैं खरो आलोचना गर्ने गर्छन् । केही समयअघि मिलान फर्किने चर्चा चल्दै गर्दा उनले इटालीमा क्रिस्टियानो रोनाल्डो भए–नभएको आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका थिए ।

तर, अघिल्लो दिन मिलानले औपचारिक रूपमा सार्वजनिक गरेपछि ज्लाटन केही नम्र देखिए । रोनाल्डोसँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा उनले सामान्य जवाफ दिए । उनले रोनाल्डोलाई इटालीमा देख्न पाउँदा आफूलाई राम्रो लागेको बताए ।

‘म यहाँ आउन पाउँदा खुसी छु । म लगत्तै प्रशिक्षणमा जाँदैछु,’ ज्लाटनले भने, ‘क्रिस्टियानो रोनाल्डोलाई इटालीमा देख्दा मलाई राम्रो लागेको छ । हाम्रो प्रतिस्पर्धामा अगाडि के हुन्छ, हामी हेर्छौं ।’

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार २१:४३
Loading...