एमबाप्पेका १३ वर्षीय ‘स्टार भाइ’ भित्र्याउँदै रियल मड्रिड

एजेन्सी, पुस १८
स्पेनको क्लब रियल मड्रिडले फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेका भाइ इथान एमबाप्पेलाई भित्र्याउन तयारी थालेको छ । हाल पिएसजीको एकेडेमीमा रहेका १३ वर्षका इथान कलिलै उमेरमा प्रतिभावान् खेलाडीका रूपमा देखिएका छन् ।

पिएसजीको उमेर समूहमा रहेका इथानलाई रियलले आफ्नो एकेडेमीमा ल्याएर तयार पार्ने योजना बनाएको छ । इथानले अघिल्लो महिना ‘इन्टरनेसनल च्याम्पियन्स कप फ्युचर’ टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा बढेको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानको योजनामा रियलले एमबाप्पेका भाइलाई यसै समर सिजनमा अनुबन्ध गर्न तयारी थालेको स्पेनिस मिडियाले खबर छापेका छन् ।

एमबाप्पेलाई पनि रियलले निकट भविष्यमा भित्र्याउन तयारी गरिरहेकाले त्यसअघि नै उनका भाइलाई एकेडेमीमा भित्र्याउने रियलको दाउ छ । एमबाप्पे रियल जाने अवस्थामा उनका भाइ सजिलै दाजुकै बाटोमा हिँड्न राजी हुने बताइन्छ । किनभने, इथान अहिले एमबाप्पेकै निगरानीमा पिएसजीको एकेडेमीमा हुर्किरहेका छन् ।

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार २०:०२
Loading...