नेइमार र फर्मिन्होलाई पछि पार्दै गोलरक्षक बेकरले जिते साम्बा डे‘ओर अवार्ड

काठमाडौं, पुस १८
इंग्लिस क्लब लिभरपुलका गोलकिपर एलिसन बेकरले वर्ष २०१९ का लागि सर्वोत्कृष्ट खेलाडी बन्दै साम्बा डे‘ओर अवार्ड जितेका छन् । यो अवार्ड युरोपमा खेल्ने ब्राजिलका सबैभन्दा उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो । यसपटक गोलरक्षक बेकरले सो अवार्डमा बाजी मारे ।

गत सिजन लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग, ब्राजिललाई यसै वर्ष कोपा अमेरिका जिताउन महत्त्वपूर्ण प्रदर्शन गरेका उनले आफ्नै सहकर्मी नेइमार र रोवर्ट फर्मिन्होलाई पछि पार्दै अवार्डमा बाजी मारेका हुन् । यस वर्ष लिभरपुलले युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जित्दा पनि बेकरको भूमिका महत्त्वपूर्ण रह्यो ।

भोटिङबाट घोषणा हुने यस अवार्डका लागि बेकरले कूल ३५.५४ मत पाए भने दोस्रो स्थानका फर्मिन्होले २३.४८ मत पाए । हालसम्म तीनपटक यो अवार्ड जितेका नेइमार भने यसपटक पाँचौं स्थनमा मात्रै रहे । उनले चोटका कारण कोपा अमेरिका खेलेका थिएनन् भने क्लब फुटबलमा पनि निकै कम मात्रै खेले । उनले मात्रै ७.५७ प्रतिशत मत पाए ।

गत वर्ष यो अवार्ड फर्मिन्होले जितेका थिए । यससँगै बेकर लिभरपुलबाट यो अवार्ड जित्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि फिलिपे कोउटिन्होले सन् २०१६ मा लिभरपुलमै छँदा यो अवार्ड जितेका थिए ।

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार ११:३४
Loading...