‘रोनाल्डो र फेलिक्सले एकै क्लबबाट खेल्नेछन्’

एजेन्सी, पुस १७
सर्वाधिक सफल एजेन्टका रूपमा चिनिएका पोर्चुगिज जोर्गे मेन्डेजले आफ्ना देशका दुई खेलाडी क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले भविष्यमा एकै क्लबाट खेल्ने सम्भावना रहेको बताएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो हाल युभेन्टसबाट खेलिरहेका छन् भने फेलिक्स स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट खेलिरहेका छन् ।

रोनाल्डो अघिल्लो वर्ष रियल मड्रिड छाडेर युभेन्टस पुगेका हुन् भने फेलिक्स गत समरमा मात्रै पोर्चुगिज क्लब बेनफिकाबाट एथ्लेटिकोमा अनुबन्ध भएका हुन् । पोर्चुगलको टोलीमा रोनाल्डो र फेलिक्स सहकर्मी भए पनि क्लब फुटबलमा भने उनीहरू प्रतिस्पर्धी हुन् । उनीहरूले एकअर्काविरुद्ध खेलिसकेका पनि छन् ।

मेन्डेज रोनाल्डो र फेलिक्स दुवैका एजेन्ट हुन् । हालै एक अन्तर्वार्तामा बोल्दै मेन्डेजले फेलिक्स र रोनाल्डो भविष्यमा क्लब फुटबलमा पनि सहकर्मी बन्न सक्ने बताएका छन् । ‘के तपाईं फेलिक्सले भविष्यमा रोनाल्डोसँग क्लबमा पनि सँगै खेलेको हेर्न चाहनुहुन्छ ?,’ मेन्डेजले भने, ‘क्रिस्टियानो अझै ४–५ वर्ष खेल्नेछन् । यो पनि असम्भव छैन । पर्खनुहोस् ।’

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार २१:४१
Loading...