रोनाल्डोले २०२० मा तोड्न सक्छन् यी चार दुर्लभ रेकर्डहरू

काठमाडौं, पुस १७
इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि वर्ष २०२० रेकर्ड र उपलब्धिका हिसाबले निकै शानदार बन्ने सम्भावना छ । फेब्रुअरीबाट ३५ वर्ष लाग्न लागेका रोनाल्डो बढ्दो उमेरबीच पनि यस वर्ष क्लब र देशको टोलीबाट उच्च प्रदर्शन गर्दै महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गर्ने योजनामा छन् । २०२० मा रोनाल्डोले प्राप्त गर्न सक्ने उपलब्धि र तोड्न सक्ने कीर्तिमानहरू बारे यहाँ चर्चा गरिएको छ ।

सर्वाधिक युरोपियन उपाधिको रेकर्ड

पोर्चुगलका फरवार्ड रोनाल्डोले हालसम्म कूल पाँचपटक क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि च्याम्पियन्स लिग जितेका छन् । उनले अन्तिमपटक सन् २०१८ मा पाँचौंपटक सो उपाधि जितेका थिए । हाल यो उपाधि सर्वाधिक ५ पटक जित्ने रेकर्ड रियलकै लिजेन्ड खेलाडी फ्रान्सिस्को गेन्टोको नाममा छ, जुन रोनाल्डोकै बराबरी हो ।

उनले सन् १९५६ देखि १९६६ को बीचमा कूल ५ पटक च्याम्पियन्स लिग जितेका थिए । रोनाल्डो २०२० मा युभेन्टसबाट च्याम्पियन्स लिग जित्दै गेन्टोको सो रेकर्डलाई भंग गर्दै सबैभन्दा बढी ६ पटक च्याम्पियन्स लिग जित्ने खेलाडीको दुर्लभ रेकर्ड बनाउने दाउमा छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक

च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा बढी ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड हाल रोनाल्डोसहित बार्सिलोनाका लिओनल मेस्सीका नाममा छ । उनीहरू दुवैले यस प्रतियोगितामा समान ८–८ ह्याट्रिक गरेका छन्, जुन अन्य खेलाडीको भन्दा बढी हो । यदि वर्ष २०२० मा रोनाल्डोले एक ह्याट्रिक गर्न सके उनले आफ्ना खास प्रतिस्पर्धी मेस्सीलाई पछि पार्नेछन् (यदि मेस्सीले ह्याट्रिक गर्न नसके मात्रै) ।

तीन फरक–फरक लिगबाट सर्वाधिक गोलकर्ता बन्ने माौका

अघिल्लो सिजन युभेन्टस पुगेका रोनाल्डोले युभेन्टसमा पहिलो सिजन कूल २१ गोल मात्रै गरे । तर, यस सिजनका आधा खेल बाँकी नै रहेकाले उनीसँग अझै पनि सिरी ‘ए’को सर्वाधिक गोलकर्ता बन्ने अवसर छ । हाल रोनाल्डोले लिगमा १० गोल गरेका छन् । लाजियोका सिरो इम्बोइल १७ गोलसहित अहिले सर्वाधिक गोलकर्ता छन् । हालको अवस्थामा रोनाल्डो चौथो स्थानमा मात्रै छन् । उनीभन्दा अघि जोआओ पेड्रो (११), रोमेलु लुकाकु (१२) रहेका छन् ।

यदि रोनाल्डो यस वर्ष इटालियन लिगको सर्वाधिक गोलकर्ता बन्न सके उनी फुटबल इतिहासमै इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ए बाट सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडी बन्नेछन् ।

१०० अन्तर्राष्ट्रिय गोल र इतिहासकै सर्वाधिक गोलकर्ता

३४ वर्षीय रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् । तर, २०२० उनका लागि निकै विशेष वर्ष हुनेवाला छ । किनभने, उनले यस वर्ष अन्तर्राष्ट्रिय मञ्चमा १०० गोल पूरा गर्दैछन् भने इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने अवसर पनि छ ।

रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल गरिसकेका छन् । उनी १०० गोलबाट अब मात्रै १ गोलले टाढा छन् । अब १ गोल मात्रै भए उनी १०० गोल पूरा गर्ने इतिहासकै दोस्रो खेलाडी बन्नेछन् भने १०० गोल गर्ने एक मात्रै सक्रिय खेलाडी बन्नेछन् । हाल फुटबल इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड इरानी खेलाडी अली डेईको नाममा छ, उनले कूल १०९ गोल गरेका छन् ।

रोनाल्डो अब उनको सो दुर्लभ रेकर्ड भंग गर्नबाट मात्रै १० गोलले टाढा छन् । र, रोनाल्डोले २०२० मै यो रेकर्ड भंग गर्दैछन् । २०२० उनका लागि यसर्थमा निकै महत्त्वपूर्ण हुनेछ, जुन उनलाई यस वर्ष बालोन डि‘ओर जिताउन पनि एक प्रमुख आधार बन्ने पक्का छ ।

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार १९:०२
Loading...